चीनबाट ४ हजार गाई ल्याइने, दुग्ध उत्पादनमा सहकार्य |
हेटौंडा । नश्ल सुधारका लागि चीनबाट चार हजार गाई ल्याइने भएको छ । दुग्ध विकास परियोजनामा शुक्रबार प्रदेश ३ सरकार र चीन सरकारसँग सम्झौता भएको छ । चाइना एकेडेमी कल्चरल मेकानाइजेसन साइन्स (क्याम्स) र प्रदेश ३ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबीच सम्झौता भएको हो ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामालगायतको उपस्थितिमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रलयका निमित्त सचिव निर्मल गदाल तथा चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्सेसका प्रमुख इञ्जिनीयर उडि सीङबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सहमतिअनुसार चाइना सरकारले गाईमा आधारित डेरी सञ्चालनका लागि सहयोग गर्ने छ । चाइना सरकारले अहिले गरेको सम्झौता ८ बर्षसम्मका लागि भएको मन्त्रालयका निमित्त सचिव निर्मल गदालले बताए । उनका अनुसार चीन सरकारले नश्ल सुधार, घास खेती, दाना बनाउने प्रविधि, पशु स्वास्थ्य, डेरी सञ्चालन र दुग्ध जन्य पदार्थको बजारीकरणमा सहयोग गर्ने छ ।
परियोजना पहिलो चरणमा ४ हजार गाई चीनबाट ल्याइनेछ । गाई कार्गोबाट सिधै विमानस्थलमा आउने आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङगेलले बताए । उक्त गाईहरु पालनका लागि दोलखा र सिन्धुली छनोट गरिएको छ ।
परियोजना प्रदेश दुग्ध विकास बोर्डले सञ्चालन गर्ने छ । प्रदेश सभाबाट विद्ययक पास गरेपनि बोर्ड गठन गरेको छैन । अब चाँडै बोर्ड गठन गरेर डीपीआर तयार पार्ने र आवश्यक गाई माग गरिने आर्थिक मामिलामन्त्री ढुङगेलले बताए ।