नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २३ खर्ब ८४ अर्ब
काठमाडौं । नेपालको सार्वजनिक ऋण झन् बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपैयाँ पुगेको छ । यसअघि मंसिर महिनामा सरकारले तिर्नुपर्ने ऋण २३ खर्ब ७१ अर्ब २५ करोड ९५ लाख रुपैयाँ रहेको थियो ।
मंसिर मसान्तसम्म तिर्न बाँकी कुल ऋणमध्ये ११ खर्ब ९८ अर्ब ४ करोड २२ लाख रुपैयाँ आन्तरिक ऋण रहेको छ भने ११ खर्ब ८६ अर्ब ४४ करोड ३८ लाख रुपैयाँ बाह्य ऋण रहेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा सरकारले कुल १ खर्ब ६२ अर्ब ५८ करोड ४९ लाख रुपैयाँ थप ऋण लिएता पनि ७७ अर्ब ४५ करोड १४ लाख रुपैयाँ सावाँ भुक्तानी गर्न सफल भएको छ । गत असार मसान्तसम्म सरकारको तिर्न बाँकी कुल ऋण २२ अर्ब ९९ करोड ३५ लाख २५ हजार रुपैयाँ रहेको थियो ।
यद्दपि, सावाँ भुक्तानी भन्दा बढी नयाँ ऋण थपिएपछि समग्र ऋण २३ खर्ब ८४ अर्ब नाघेको हो । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) ५३ खर्ब रुपैयाँ हाराहारीमा रहेको छ । यसआधारमा हेर्ने हो भने नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कुल सार्वजनिक ऋणको हिस्सा ४४.९९% हुन आउँछ । यता, नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ को आधारमा हेर्ने हो भने एक नेपालीको भागमा ८१ हजार ७५६ रुपैयाँ ऋण पर्ने देखिन्छ ।