तेश्रो लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठक अर्थमन्त्री महतको संयोजकत्वमा सम्पन्न
काठमाडौं । तेश्रो लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठक माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा शुक्रबार सम्पन्न भएको छ । आगामी वैशाख १६ र १७ मा काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनका लागि नीतिगत, कानुनी एवं प्रक्रियागत सुधार र परियोजना तयारीलाई तीव्रता दिन उनले विशेष निर्देशन दिए ।
त्यस्तै उनले लगानी सम्मेलनले विदेशी लगानीकर्ताका साथै गैरआवासीय नेपाली र स्वदेशी निजी क्षेत्रको लगानी आकर्षणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै सम्भाव्य विदेशी लगानीकर्ता तथा परियोजना पहिचान गरी ठोस सुझाव प्रस्तुत गर्न निजी क्षेत्रलाई आह्वान गरे ।
आगामी लगानी सम्मेलन निजी क्षेत्र तथा विकास साझेदारहरूसँगको सहकार्यमा नेपाल सरकारले आयोजना गर्न लागेको हो ।
बैठकमा लगानी सम्मेलन सचिवालयका संयोजक एवं लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले हालसम्म भएका तयारीबारे संक्षिप्त प्रस्तुतीकरण गरेका थिए ।
लगानी सम्मेलन आयोजना गर्नका लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा सचिवालय गठन गरी काम अगाडि बढाएको छ । साथै नीतिगत, प्रक्रियागत र कानुनी सुधारका लागि प्रधानमन्त्री कार्यालयका सचिव (आर्थिक पूर्वाधार महाशाखा) को संयोजकत्वमा कार्यदल गठन भएको छ । यी सबै समिति र कार्यदलहरूले आ-आफ्नो क्षेत्रमा सक्रियतापूर्वक कार्य गरिरहेका छन् ।
आज सम्पन्न निर्देशक समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति; उर्जा, जलस्रोत तथा सिंचाई; वन तथा वातावरण; संस्कृति, पर्यटन तथा नागरिक उड्ययन र सहरी विकास मन्त्रालयका माननीय मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष, मुख्य सचिव तथा विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा निजी क्षेत्रका छाता संगठनहरू- नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका अध्यक्षहरूको सक्रिय सहभागिता रहेको थियो ।