माछापुच्छ्रे बैंकको नाफा घट्यो, यस्ता छन् अन्य वित्तीय सूचक
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा माछापुच्छ्रे बैंकको खुद नाफासँगै प्रमुख सूचकहरु घटेका छन् । यसअवधिमा खुद नाफा २१.४५ प्रतिशतले घटेर ८० करोड ५३ लाख ८० हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब २ करोड ५२ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ भने खराब कर्जा बढेको छ । यसले खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी ५.५६ प्रतिशतले घटेर २ अर्ब ६३ करोड ७४ लाख ९७ हजार रुपैयाँमा आएको छ । सञ्चालन नाफा १३.१९ प्रतिशतले घटेर १ अर्ब २७ करोड ९२ लाख ३३ हजार रुपैयाँमा सीमित भएको छ । खराब कर्जा १.२१ प्रतिशतले बढेर २.६२ प्रतिशत पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा यस बैंकको वितरणयोग्य नाफा २४ करोड ६९ लाख ८६ हजार रुपैयाँ ऋणात्मक छ । चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७८ पैसाले घटेर १३ रुपैयाँ ८६ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ छ ।