नेता तथा व्यवसायीहरुको सम्झनामा रवीन्द्र अधिकारी |
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएकाको पार्थिव शरीरमा राष्ट्रपति विद्यादेवी भण्डारीले माल्यार्पण गरी अन्तिम श्रद्धाञ्जली दिईन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे ।
राजधानीको टुँडिखेलमा राखिएको मृतक सातै जनाको शवमा अन्तिम श्रद्धाञ्जली दिन राज्यका सबै अंगका प्रमुख, नेता, कार्यकर्ता हजारौँको संख्यामा उपस्थित थिए ।
नेकपाका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले रवीन्द्र अधिकारीलाई उदयमान नेताको रुपमा लिएको बताउँछन् । ‘नेपालको लोकतान्त्रिक आन्दोलन र कम्युनिष्ट आन्दोलनको उज्जवल नक्षत्र हुनुहुन्थ्यो, छोटो अवधिमा निकै महत्वपूर्ण योगदान पुर्याएर उहाँ जानुभएको छ’ खनालले भने, ‘विद्यार्थी आन्दोलन र देशभक्तीको आन्दोलनमा होमिएको एउटा योद्धा देशले गुमाएको छ ।’
नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले देशले होनाहार युवा नेतृत्व गुमाएको भन्दै रवीन्द्रलाई सम्झिए । उनले भने, ‘विभिन्न कालखण्ड पार गर्दै समृद्धिको युगमा प्रवेश गरेको अवस्थामा विकासप्रेमी युवा नेतृत्वको खाँचो रहेको समयमा उहाँ दिवंगत हुनु भयो, समृद्धिको यात्रामा उहाँको अभाव सधै खड्किने छ ।’
‘मैले व्यक्तिगत रुपमा निकै आशा र भरोसा गरेका केही व्यक्तिमध्ये उहाँ पनि पर्नुहुन्थ्यो, समृद्धिका विषयमा चासो राख्नुहुन्थ्यो, किताब पनि लेख्नुहुन्थ्यो’ भट्टराईले भने, ‘देशले नै सिर्जनशील र उर्जाशील युवा गुमाएको छ ।’
नेकपाका नेता वामदव गौतमले भरोसा गरेर हुर्काएको एउटा शिष्य गुमाउनु परेको भन्दै रवीन्द्र अधिकारीलाई सम्झिए । ‘मैले प्रशिक्षण गरेको, मैले पार्टी सदस्यता दिएको, निरन्तर हुर्काईरहेको र भोली सरकार र पार्टीको नेतृत्व सम्हाल्न सक्ने व्यक्तिलाई गुमाउनु परेको छ’ गौतमले भने, ‘नेकपाले ठूलो क्षति बेहोर्नुपरेको छ ।’
नपाली काङ्ग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले मृदुभाषी, मिलनसार साथी गुमाउनु परेको प्रतिक्रिया दिए । ‘अत्यन्त सरल, कुशल व्यक्तित्व र देशको लागी केही गर्नुपर्छ भन्ने उत्साह बोकेको युवा हुनुहुन्थ्यो’ बडुले भने ‘उहाँको अवसानले देशलाई ठूलो क्षति पुगेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले रवीन्द्र अधिकारीसँग तीन दशक लामो सहकार्य रहेको भन्दै उनी र आफूबीच पारिवारीक सम्बन्ध पनि रहेको बताए । उनले भने, ‘रविन्द्रजीसँग मेरो झण्डै ३ दशक लामो सहकार्य रह्यो, अत्यन्तै घनिष्ठता सहितको । मैले उहाँलाई धेरै असल र राम्रो सम्भावना भएको मान्छेका रुपमा पाउँथे ।’
ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपा (टान) का अध्यक्ष नवराज दाहाल मन्त्री अधिकारीको देहवसानले पर्यटन व्यवसायीले अभिभावक गुमाउनु परेको बताए । ‘एकजना अत्यन्त चलायमान, उर्जाशील र पर्यटन मार्फत समृद्धिको सपना देखेर सक्रिय भईरहनु भएका मन्त्रीको निधनले नेपालको पर्यटन क्षेत्रमा ठूलो क्षति पुग्न गएको छ’ दाहालले भने, ‘देशले एउटा होनाहार युवा नेता गुमाएको छ, पर्यटन क्षेत्रले आफ्नो अभिभावक गुमाएको छ ।’