‘छैटौं नेपाल एग्रीटेक’ अन्तरराष्ट्रिय कृषि प्रर्दशनी माघ १२ गतेदेखि सुरु हुने
काठमाडाैँ । कृषकहरुका समस्याहरुलाई समाधान गर्ने उद्देश्यले यस वर्ष पनि कृषिसम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी ‘छैठौँ नेपाल एग्रिटेक’ हुने भएको छ।
मिडिया स्पेस सोलुसन प्रा.लि, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि, तथा प्रदर्शनी व्यापार सेवा भारत प्रा.लिको संयुक्त आयोजनामा छैठौँ नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो आउँदो माघ १२ गतेदेखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको हो।
यस प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहने छन्। कार्यक्रम उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले गर्ने मिडिया स्पेस सोलुसन प्रा.लि प्रबन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिएका छन्।
प्रर्दशनीको प्रवर्द्धकको रुपमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि साझेदारको भूमिकामा मुक्तिनाथ कृषि कम्पनी तथा सहयोगी संस्थाको भूमिकामा नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समुह महासंघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ रहेका छन्।
प्रदर्शनीमा कृषिका विभिन्न विषयमा स्वदेशी विज्ञहरुद्वारा सेमिनार आयोजना हुने तथा देशभरिबाट आउने कृषकहरुलाई कृषि प्रविधि, कृषिका विभिन्न विधाहरुको बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ।
उक्त प्रर्दशनीमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैंसी पालन, डेरीलगायत कृषिका नवीनतम औजार, उपकरण, केराखेती, थोपा सिंचाइ, विषादीरहित कृषिलगायतका बारेमा जानकारी प्राप्त गर्न सकिने आयोजकले जानकारी दिएको छ।
अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिलगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने छ। प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था रहेको छ।