जसपा केन्द्रीय समिति बैठकका निर्णयहरु
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक पार्टीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भयो । बैठकले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि आएका उपयुक्त सुझाव समेट्ने गरी उक्त राजनीतिक प्रतिवेदन पारित गरेको छ ।
बैठकले पार्टीको तर्फबाट मधेस प्रदेशको महिला सिटमा राष्ट्रिय सभा सदस्य उम्मेदवार पुजा चौधरीलाई अत्यधिक मतले विजयी गराउन मधेस प्रदेश समितिले विशेष कार्ययोजना बनाई काम गर्नुपर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले माघ ३ गतेलाई मधेस दिवसका रुपमा मनाउने निर्णय गरेको छ । त्यस्तै पार्टीले मनाउँदै आएको माघ ५ गते बलिदानी दिवसलाई भव्यरुपमा मनाउने निर्णय भएको छ ।
पार्टीको जेठ २८ गतेदेखि ३० गतेसम्म आयोजना हुने महाधिवेशनका लागि कार्यतालिका पारित भएको छ ।
त्यस्तै बैठकबाट युवा स्वयम्सेवक संगठन बनाउने निर्णय समेत भएको छ ।