सडकमा ४ फिट हिउँ जम्दा त्रिभुवन राजपथ अवरुद्द | थाहा नगरपालिकाका बस्तीबस्तीमा १५ वर्षपछि पर्यो हिउँ
पालुङ । काठमाडौंसँग जोडिएको जिल्ला मकवानपुरका विभिन्न स्थानमा उच्च हिमपातका कारण आज बिहीवार बिहानैदेखि त्रिभुवन राजपथ अवरुद्ध भएको छ । पालुङकी एक स्थानीय बासिन्दा ममता गोपालीका अनुसार झण्डै १४÷१५ पछि यसरी सडक अवरुद्ध नै हुने गरी उच्च हिमपात भएको हो ।
मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने दामन, पालुङ, सिम भञ्ज्याङलगायत क्षेत्र र त्यसवरपरका डाँडा, बस्ती तथा सडकहरूमा हिमपात भएपछि राजपथको सवारी आवागमन प्रभावित बनेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राजपथमा ४ फिटसम्म हिउँ जमेको छ । हिउँ परेपछि काठमाडौंतर्फ हिँडेका सवारी अधोरमा रोकिएका छन् भने काठमाडौंबाट हेटौंडा हिँडेका सवारी पनि पालुङको ओखर बजारमा रोकिएका छन् ।
थाहा नगरपालिकाको उच्च भू–भागमा प्रत्येक वर्ष हिमपात हुने गरे पनि यसपटक भने बस्तीहरूका अधिकांश भाग हिउँले सेताम्य भएको स्थानीय बासिन्दाले बताएका छन् ।
यता काठमाडौंको वरिपरि रहेका चन्द्रागिरि, फुल्चोकी, ककनीलगायतका उच्च डाँडाहरू पनि आज हिमपातका कारण सेताम्य देखिएका थिए ।