एनआईसी एशिया बैंकको स्मार्ट टेलर संचालनमा, विना चेक पैसा निकाल्न सकिने |
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो सम्पुर्ण शाखा कार्यालयहरुमा रहेका टेलरलाई आधुनिकिकरण गर्दै स्मार्टटेलर संचालनमा ल्याएको छ । बैंकले बुधबार आफ्ना सबै शाखा कार्यालयहरुका टेलरलाई आधुनिकिकरण गर्दै उक्त स्मार्टटेलर संचालनमा ल्याएको हो ।
उक्त स्मार्टटेलरमार्फत बैंकका ग्राहकहरुले चेक विना नै आफ्नो मोवाईल बैंकिङ तथा डेबिट कार्ड प्रयोग गरी काउन्टरबाट रकम झिक्न सक्नेछन् । बैंकको उक्त सेवाले डिजिटल बैंकिङको विकासमा थप उचाई प्राप्त गरेको बैंकको विश्वास छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा मुलुकभर २७७ शाखा कार्यालयहरू, २९० एटीएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवम् २३ वटा शाखारहित बैंकिङ इकाइमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन एनआईसी एशिया बैंक सफल भएको छ ।
बैंकको हाल वासलातको आकार रू. २१५ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप पनि करिब रू. १७१ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगी निजीक्षेत्रबाट स्थापित बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रूपमा आफ्नो पहिचान बनाउन सफल भएको छ ।
१४ लाख ५० हजारभन्दा बढी ग्राहक संख्या रहेको यस बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पनि पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरूमा पनि चँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने अभियानलाई जारी नै राखेको छ ।