भारत र पाकिस्तानलाई संयम अपनाउन नेपालको आग्रह |
काठमाडौं । छिमेकी देश भारत र पाकिस्तानबीच बढ्दो तनावका विषयमा नेपालको सरकारले आफ्नो धारणा राखेको छ ।
परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै वार्ता र शान्तिपूर्ण माध्यमद्वारा समस्या समाधानका लागि आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पुलवामामा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढेको तानवलाई लिएर नेपाल सरकार चिन्तित छ । उक्त घृणित कार्यको हामीले निन्दा गरिसकेका छौं । सार्कको अध्यक्ष राष्ट्रका नाताले नेपाल दक्षिण एसियामा शान्ति र स्थायित्वको महत्वमा जोड दिन चाहन्छ ।’
दुवै पक्षलाई अधिकतम संयम अपनाउन र यस क्षेत्रमा शान्ति र सुरक्षामा खलल पुग्ने कार्य नगर्न आग्रह गरेको छ । ‘तनावलाई कम गरेर स्थिति सामान्यीकरण गर्न वार्ता र शान्तिपूर्ण माध्यममार्फत समाधान खोज्न पनि आग्रह गर्दछौं ।’ परराष्ट्र मन्त्रालयले भनेको छ ।