दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिएको राजीनामा सरकारले गर्यो स्वीकृत
काठमाडौं । सरकारले दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिएको राजीनामा स्वीकृत गरेको छ ।
मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो ।
रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरिएको बैठकपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
‘रिक्त पदमा दूरसञ्चार नियमावलीको नियम ३ ‘क’ बमोजिम प्राधिकरणका सदस्य नवराज अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्ष तोकिएको छ,’ उनले भनिन् ।
खनालले मंगलवार बिहान मात्र पदबाट राजीनामा दिएका थिए ।