महाकाली सन्धिअनुसार नेपालले पानी पाउनुपर्ने कुरा राख्नुस् : प्रम | के छ महाकाली सन्धिको धारा ४ मा ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो देशको हितका सम्बन्धमा बृहत् छलफल गरी भारतीय पक्षसँग राख्न निर्देशन दिएका छन् । उनले २३ वर्षअघि महाकाली सन्धिअनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनुपर्ने १० घन मिटर प्रतिसेकेण्ड (३५० क्यूसेक) पानी हालसम्म नपाएकाले यस्ता विषयलाई गम्भीरताका साथ छलफल गरी उठाउनुपर्ने बताए ।
जल तथा ऊर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराउन आज मंगलवार सिंहदरबारमा आयोजना गरिएको बैठकमा प्रम ओलीले त्यस्तो निर्देशन दिएका हुन् ।
उनले भोलिदेखि काठमाडौंमा नेपाल र भारतका विज्ञहरूको संयुक्त तेस्रो बैठक शुरू हुँदै छ । उक्त बैठकमा सहभागी हुने नेपाली सरोकारवालाहरूलाई ब्रिफिङ गर्दै उनले महाकाली सन्धिअनुसार नेपालले पानी पाउनुपर्ने विषयलाई खुलेर राख्न निर्देशन दिए ।
उनले भने, ‘हाम्रो पहिलो प्राथमिकता सन्धि कार्यान्वयनको हो, सन्धिअनुसार नेपालले १० घन मिटर पानी पाउनुपर्छ, सिरानबाट नहर बग्ने तर हाम्रा खेत बाँझै रहने स्थिति अब रहनुहुँदैन ।’
के छ महाकाली सन्धिको धारा ४ मा ?
वि.सं. २०५२ साल १९ माघमा भएको महाकाली सन्धिको धारा ४ मा नेपालको चाँदनी–दोधारा क्षेत्रको सिँचाइका लागि भारतले १० घनमिटर प्रतिसकेण्ड पानी उपलब्ध गराउने उल्लेख छ ।
भारतले सन्धिमा उल्लेख भएको विषयलाई पनि कार्यान्वयनमा ल्याएको छैन । अब उक्त सन्धिलाई कार्यान्वयन गराउन लगाउनुपर्ने प्रम ओलीको भनाइ थियो । बैठकमा ऊर्जामन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईलगायतको सहभागिता रहेको थियो ।