सानाकिसान सम्मेलन यही फागुन १६ र १७ गते आयोजना गरिदै | १२ सय जनाको सहभागिता, उद्यमशीलताको विकासमा सहयोग पुर्याउने अपेक्षा
काठमाडौं । ‘सानाकिसानको सम्बृद्धिː कृषिमा रुपान्तरण र उद्यमशीलता विकास’ भन्ने नाराका साथ यहि फागुन १६ र १७ गते सानाकिसान सम्मेलन २०७५ को आयोजना हुदैछ । प्रधानमन्त्री केपीशर्मा ओलीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यो सम्मेलन सानाकिसान विकास लघुवित्त वित्तीय संस्था लि. (तत्कालिनः सानाकिसान विकास बैंक), नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. र सानाकिसान सहकारी संस्था लिमिटेड लगायतका सस्थाहरुकोे आयोजनामा हुन लागेको हो ।
सम्मेलनमा देशभरका करिब १ हजार सानाकिसान प्रतिनिधि एवं विभिन्न क्षेत्रका राष्ट्रिय अन्तरराष्ट्रिय विज्ञ, अन्वेषक, अध्येता, अभ्यासकर्ता, विद्यार्थी, योजनाविद तथा नीति निर्माता आदि गरी कुल १२ सय जनाको सहभागिता रहने छ ।
साना किसानहरुमा उद्यमशीलता विकास गराई कृषि सहकारीमार्फत कृषिक्षेत्रको रुपान्तरण गर्ने अभियान नै सानाकिसान विकास कार्यक्रमको अबको दिशा हो भन्ने कुरामा आम साना किसानहरुलाई परिचालन गर्न सघाउ पुगोस भनी यो सम्मेलन आयोजना गर्न लागिएको हो । गरिबीनिवारण, खाद्य सुरक्षा, भोकमरीको अन्त्य, उत्पादन विकास, रोजगारी सिर्जना तथा पर्यावरण संरक्षण जस्ता दीगो विकास लक्ष्यले निर्दिष्ट गरेका लक्ष्यहरु हासिल गर्ने सम्बन्धमा सम्मेलनमा १४ सत्रमा प्रस्तुत हुने २८ वटा कार्यपत्र तथा दशौं भिडियो एवं अनुभवहरु केन्द्रित हुनेछन् । यी कार्यपत्र तथा प्रस्तुती माथि सम्बन्धित विज्ञहरुबाट टिप्पणी र आम सहभागिहरु बाट प्रश्नोत्तर समेत हुनेछ ।
सम्मेलनको निश्कर्ष स्वरुप अन्त्यमा सम्मेलन घोषणा जारी गर्दै सम्मेलन समापन गरिने छ । यसबाट सानाकिसानहरुको संस्थागत दिगो विकास, कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि, प्रशोधन, बजारीकरण तथा मूल्य श्रृङखला अभ्यास आदिको सिकाई एवं आगामी कार्य दिशा निर्धारण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । कृषिको रुपान्तरण एवं उद्यमशीलताको विकासले रोजगारी एवं उत्पादनमा वृद्धि भई ‘सम्वृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यलाई सहयोग पुग्ने विश्वास लिइएको छ ।
सानाकिसान सम्मेलन, २०७५ किसानहरुको राष्ट्रिय सम्मेलन हो । यति ठूलो संख्यामा किसानहरुको उपस्थितिमा राष्ट्रियस्तरमा हुन लागेको यस सम्मेलनबाट प्राप्त हुने सुझाव तथा पृष्ठपोषणले कृषि क्षेत्रको रुपान्तरण तथा उद्यमशीलता विकास सम्बन्धी राष्ट्रिय नीति निर्माणका लागि समेत सहयोगी हुने अपेक्षा गरिएको छ ।
यस सम्मेलनमा एसियाली विकास बैंक (एडीबी), संयुक्त राष्ट्र संघीय पूँजीविकास कोष (यूएनसीडीएफ), कृषि विकास बैंक सह–आयोजकका रुपमा रहेका छन् । यसैगरी रिलायन्स लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंक लि., राष्ट्रिय वाणिज्य बैंक लि., स्याकर ट्रेड्रिङ कम्पनी प्रालि., छिमेक घुवित्त वित्तिय संस्थालि., प्रभु बैंक लि., आरएमडीसी लघुवित्त वित्तिय संस्था लि., फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लि., नेपाल डिप इरिगेन प्रालि, मेगनस क्न्सल्टिङ ग्रुप प्राली., आईसीटी इन एजुकेशन नेपाल, श्रेष्ठ एग्री इनपुट, नेपाल बैंक लि., एनआईसी एसिया बैंक, सिभिल बैंक, सेञ्चुरी बैंक आदि प्रायोजकका रुपमा रहेका छन् ।
२०३२ देखि सञ्चालित सानाकिसान विकास कार्यक्रमले ७० जिल्लामा करिव ९ सय सानाकिसान कृषि सहकारी संस्थाहरुको स्थापना गरी ८ लाख विपन्न तथा साना किसान परिवारलाई सेवा प्रदान गर्दै आएको छ । यी संस्थाहरुको गतिविधि र सिकाईहरुको आदान प्रदान, नयाँ खोज र अनुसन्धानहरुको प्रस्तुती एवं भावि दिशानिर्देश गर्ने उद्देश्यले २०७१ सालमा १९ बुँदे घोषणा पत्रजारी गर्दै सानाकिसान सम्मेलन, २०७१ सम्पन्न भएको थियो । उक्त सम्मेलनले प्रत्येक ४ वर्षमा सानाकिसान सम्मेलन आयोजना गर्ने निर्णय गरे अनुरुप दोस्रो श्रृङखलाको रुपमा यही फागुन १६ र १७ गते काठमाडौंमा सानाकिसान सम्मेलन, २०७५ आयोजना गर्न लागिएको हो ।