सहरी क्षेत्रमा २७ प्रतिशत मात्र बसोबास, शहरोन्मुख क्षेत्रमा धेरै
काठमाडौँ । नेपालमा ग्रामीण जनसंख्या निरन्तर ओरालो लागेको तथ्यांकले देखाएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन अनुसार नेपालमा ग्रामीण जनसंख्या ३३.१९ प्रतिशतमा ओर्लिएको देखिएको छ।
कार्यालयले राष्ट्रिय जनगणना २०७८ को आधारमा यस्तो परिणाम देखाएको हो। २०६८ को जनगणनाले ३८.५ प्रतिशत जनसंख्या गाउँमा बस्ने देखाएको थियो। एक दशकको अवधिमा गाउँको जनसंख्या पाँच प्रतिशत बिन्दुले घटेको हो।
यो अवधिमा गाउँमा घटेको जनसंख्या शहरमा बढेको छ। २०६८ सालमा २२.१ प्रतिशत रहेको शहरी जनसंख्या २०७८ मा आइपुग्दा २७.०७ प्रतिशत पुगेको प्रतिवेदनले उल्लेख गरेको छ।
नेपालमा लामो समयदेखि शहरी जनसंख्याको सही आँकडाको विषयमा अन्योल थियो। राष्ट्रिय जनगणना २०७८ ले नेपालमा नगरपालिकाको जनसंख्या ६६.१७ प्रतिशत र गाउँपालिकाको जनसंख्या ३३.८३ प्रतिशत रहेको देखाएको थियो। तर सबै नगरपालिकाको जनसंख्यालाई शहरी क्षेत्रका रूपमा परिभाषित गर्न मिल्दैनथ्यो।
महानगर, उपमहानगर तथा नगरपालिकाभित्र पनि ग्रामीण चरित्रका बस्ती प्रशस्त मात्रामा रहेका तथा गाउँपालिकाका बजार तथा केन्द्रहरू ससाना शहरका रूपमा विस्तार हुँदै गएको परिप्रेक्ष्यमा शहरीकरणका आयामलाई फरक ढंगले केलाई पुनःपरिभाषित गर्न अहिलेको अध्ययन गरिएको कार्यालयले जनाएको छ।
यो प्रतिवेदन अनुसार नेपालका बहुसंख्यक नागरिक अर्ध-शहरी क्षेत्रमा बसोबास गर्छन्। शहरोन्मुख क्षेत्रमा बसोबास गर्ने जनसंख्या ३९.७५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनले ग्रामीण क्षेत्रबाट शहरोन्मुख र शहरी क्षेत्रमा भइरहेको बसाइँसराइले जनसंख्यालाई शहरी क्षेत्रमा व्यवस्थापन गर्न कठिनाइ भएको र ग्रामीण क्षेत्रमा बसाइँसराइ कम गर्न दबाब परेको उल्लेख गरेको छ।
भौगोलिक क्षेत्रका आधारमा हेर्दा ग्रामीण जनसंख्यामध्ये पहाडमा ६६ प्रतिशत र हिमालमा १६ प्रतिशत केन्द्रित छ। शहरोन्मुख जनसंख्यामध्ये तराईमा मात्रै ८५ प्रतिशतको बसोबास छ। पोखरा महानगरपालिका र काठमाडौं उपत्यकामा अधिकांश शहरी जनसंख्या थुप्रिएका कारण शहरी जनसंख्यामध्ये पहाडमा ५३ प्रतिशत र त्यसपछि तराईमा ३९ प्रतिशत केन्द्रित भएको प्रतिवेदनले देखाएको छ।
गाउँपालिकाका ५.९ प्रतिशत जनसंख्या शहरी भनेर वर्गीकरण गरिएको क्षेत्रमा बसोबास गर्ने गरेको र नगरपालिकाका २५.४ प्रतिशत जनसंख्या ग्रामीण भनेर वर्गीकरण गरिएको क्षेत्रमा बसोबास गर्ने गरेको तथ्य पनि प्रतिवेदनले देखाएको छ। प्रतिवेदनले नगरपालिका भए पनि बसोबास क्षेत्रको मुख्य विशेषता अझै पनि शहरोन्मुख छन् र उल्लेख्य जनसंख्या ग्रामीण परिदृश्यमा नै भएको देखाएको छ।
त्यसैगरी, शहरी र शहरोन्मुख क्षेत्रको तुलनामा गाउँपालिकाका वडाको संख्या धेरै भए पनि तिनमा कुल जनसंख्याको ३३ प्रतिशत मात्रै रहेको देखाएको छ।