शुक्रबार देखि नेपाल उड, फर्निचर तथा होम डेकोर अन्तर्राष्ट्रिय प्रदर्शनी हुने
काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युच्युरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रा.लि. ले संयुक्तरुपमा आयोजना गर्दै आइरहेको नेपाल उड इन्टरनेशनल एक्स्पो तथा नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर इन्टरनेशनल एक्स्पो यही पौष २०, २१ र २२ गते काठमाडौंको भृकृटीमण्डपमा आयोजना गर्न गइरहेको जानकारी दिएको छ ।
प्रदर्शनीमा स्वदेशी तथा बिदेशी ख्याती प्राप्त ब्राण्डहरुका १०० भन्दा बढि स्टल रहने छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनिका डिलर, सब डिलर र बिक्रेताहरुले काठ ब्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी विगत ८ वर्षदेखि कोसेढुंगा सावित हुँदै आएको जनाइएको छ ।
यस अन्तराष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरुहरुको उल्लेखनीय सहभागिता रहने छ । यस नवौं नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसारभरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा पनि अत्याधुनिक वस्तु तथा टेक्नोलोजीलाई स्वदेशी उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएको जनाएको छ ।
यस प्रदर्शनीले सानादेखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्नेछ । यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा सोसाइटी अफ नेपालिज आर्कीटेक्ट, इन्टेरियर डिजाईनर एस्सोसियेशन नेपाल, सामुदायिक वन उपभोगता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ तथा नेपाल प्लाईउड उत्पादक संघ रहेका छन् भने ल्यानयार्ड पार्टनरको रुपमा फर्निचर हब रहेको छ ।
यस प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्याउने विश्वास गरेको छ । यस प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ती, आम नागरिकबाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस् तथा इन्टीरीयर डिजाइनरहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
यस प्रदर्शनीले नेपालको काठ तथा फनिर्चर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापुर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने छ । यस प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धि कार्यहरुमा पनि सकारात्मक भुमिका निर्वाह गर्ने विश्वास आयोजकले लिएको जनाएको छ ।