देउखुरीको राप्ती नदीमा र्याफ्टिङ परीक्षण सफल
दाङ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र दाङ देउखुरीमा रहेको राप्ती नदीमा र्याफ्टिङ सञ्चालनका लागि गरिएको परीक्षण सफल भएको छ ।
गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले गत शुक्रबारदेखि दुई दिनसम्म गरेको परीक्षण सफल भएको कर्णाली र्याफ्टिङ एण्ड एडभेन्चर प्रालिका सञ्चालक देवराज जैशीले बताए।
क्रबार र शनिबार दुई दिन राप्ती नदीमा र्याफ्टिङ गरिएको छ। ‘१५ किलोमिटर लामो दुरी करिब साढे दुईदेखि तीन घण्टामा पार गर्न सकिन्छ। सुन्दर दृश्यहरू अवलोकन गर्दै जलयात्रा गर्नुको आनन्द बेग्लै छ’, उनले भने, ‘हामीले धेरै नदीमा जलयात्रा गरेका छौं। राप्ती नदी पनि अब जलयात्राको लागि सम्भव छ। यसलाई सबैमाझ पुर्याउन जरुरी छ।’
पूर्वमा राप्ती गाउँपालिका वडा नम्बर १ हनुमानगढी मन्दिरदेखि पश्चिममा सिसहनियाँ-महदेवा दोस्रो लामो पुलसम्मको करिब १५ किलोमिटर क्षेत्रलाई हाल जलयात्राको दुरी कायम गरिएको छ।
बर्खामा पानीको सतह बढ्ने र धमिलो हुँदा केही असहज भएपनि बाँकी समय जलयात्राको लागि उपुक्त रहेको हो। गर्मी समयमा पानीको सतह घट्ने भएकाले नदीलाई एकैधारमा बगाउने व्यवस्था गर्न सके अझ जल यात्रा रमाइलो हुने बताइएकाे छ। अब व्यावसायिक रूपमा र्याफ्टिङ चलाउन सकिने सम्भाव्यता अध्ययनले देखाएको हो।
गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले संयुक्त रूपमा जलयात्राको सम्भाव्यता अध्ययन गरिएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले जानकारी दिए।
‘राप्ती नदीको पानीलाई पर्यटन संग जोड्न थालेका हौं। यसका लागि जलयात्रा उपयुक्त देखिएको छ। यसलाई व्यावसायिक रूपमा अघि बढाउन सकिन्छ’, उनले भने, ‘स्थानीय उत्पादित सामग्री तथा परिकारहरूको बजारीकरण गर्दै आयआर्जन बढाउन सकिन्छ। यसतर्फ बृहत योजना निर्माण गरेर काम गर्नेछौं।’
नदी किनारका बस्ती तथा समुदायले यसबाट लाभ लिने सक्नेछन्। आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र स्थानीय समुदायको जीवनस्तरमा सुधार गर्नेगरी योजना बनाउन थालिएको छ।
राप्तीको पानीमा आश्रित समुदायलाई होमस्टेमा जोड्ने, ठाउँठाउँमा पर्यटकलाई अडिन र भुल्नको लागि स्टेसन निर्माण गर्ने समेत योजना छ। .
लुम्बिनी प्रदेशको राजधानीस्थल समेत रहेकाले यहाँ प्रदेशभित्रका नागरिकलाई आन्तरिक पर्यटकको रूपमा भित्र्याउन सकिनेगरी जलयात्रालाई पर्यटनसँग जोड्न सकिने प्रदेशसभा सदस्य इन्द्रजीत थारुले बताए।
‘स्थानीय सरकारले मात्रै यसलाई अघि बढाउन गाह्रो पर्न सक्छ। यसका लागि तीन वटै सरकारले यसमा लगानी र कार्यक्रम बनाउन जरुरी छ’, उनले भने,‘पर्यापर्यटनलाई प्राथमिकता दिएर अघि बढ्नुपर्छ।’