युरोपेली सेयर बजारमा उछाल, परिसूचक १६ वर्षयताकै उच्च
काठमाडौँ । युरोपेली सेयर बजार ‘युरो स्टोक्स ५०’ १६ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । युरोपियन क्षेत्रका शीर्ष ५० कम्पनी सम्मिलित यस परिसूचक आज १६ वर्षयताकै उच्च ४५४२ विन्दुमा पुगेको हो । यसअघि सूचक सन् २००७ जुन १ मा सो विन्दुमा रहेको थियो ।
सन् २००८ को आर्थिक मन्दीका कारण इन्डेक्स सन् २०१३ सम्म घटेको थियो । सूचक ४५ सयबाट घटेर २ हजारको एरियासम्म झरेको थियो । पछिल्लो १ वर्षमा परिसूचक १९.२५ प्रतिशतले वृद्धि भएको छ । सन् २०२४ मा युरोप र अमेरिकाका केन्द्रीय बैंकहरुले ब्याजदर घटाउने विश्वासका कारण सेयर बजारमा वृद्धि देखिएको जानकारहरु बताउँछन् ।
यस्तै, युरोपका २० राष्ट्रहरुको ६०० ठूला र मध्यमस्तरका कम्पनी सम्मिलित परिसूचक ‘स्टक्स ६००’ पनि २३ महिनायताको उच्च विन्दुमा आएको छ । अहिले ‘स्टक्स ६००’ ४७८ विन्दुमा कारोबार भइरहेको छ । त्यसैगरी, अन्य युरोपेली राष्ट्रहरुको सेयर बजारमा पनि वृद्धि देखिएको छ ।
ट्रेडिङ इकोनोमिक्सका अनुसार विभिन्न युरोपेली राष्ट्रहरुको ४५ परिसूचकहरुमध्ये पछिल्लो एक सातामा ३५ वटा परिसूचक बढेका छन् । यता, ९ वटामा भने गिरावट देखिएको छ ।