अम्बे सिमेण्टले लगानी बढाउँदै, रू. १ अर्ब थप लगानीका लागि प्रस्ताव पुग्यो बैंकमा |
काठमाडौं । पर्सा जिल्लामा अवस्थित अम्बे सिमेन्टले अल्पकालीन र दीर्घकालीन समेत गरी जम्मा १ अर्ब रुपैयाँ लगानी थप्ने भएको छ । अम्बे समूहअन्तर्गतको यस उद्योगले बैंकबाट ऋण लिई लगानी थप्न लागेको हो । त्यसका लागि क्रेडिट रेटिङसमेत गराइसकेको छ ।
ओपीसी, पीपीसी, पीएससी सिमेण्ट उत्पादन गरिरहेको यस उद्योगले १ अर्बमध्ये ४ करोड ५० लाख रुपैयाँ दीर्घकालीन र ९५ करोड ५० लाख रुपैयाँ अल्पकालीन लगानीका लागि ऋण लिन लागेको हो ।
केयर रेटिङ नेपालले यस उद्योगलाई दीर्घकालीन ऋणको लागी ‘केयर एनपीएल त्रिपल बी माइनस’ र अल्पकालीन ऋणको लागि ‘केयर एनपीएल एथ्री रेटिङ’ दिएको छ । आइक्रा एनपीका अनुसार ‘त्रिपल बी माइनस’ ले समयमै ऋण चुक्ता गर्न मध्यम स्तरको जोखिम भएको अवस्था बुझाउँछ । त्यस्तै, एथ्री रेटिङले अल्पकालीन ऋणका लागि उच्च जोखिमको अवस्थालाई बुझाउँछ ।
दैनिक उत्पादन क्षमता १ हजार टन रहेको यो उद्योगले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ९५ करोड ६० लााख रुपैयाँबराबरको ७४ हजार २२९ टन सिमेण्ट विक्री गरेको छ ।
आइक्रा नेपालको विज्ञप्तिअनुसार अम्बे सिमेण्टले २०७३७४ मा २ अर्ब ५६ करोड १० लाख रुपैयाँ खुद आम्दानीबाट करपछिको मुनाफा ८ करोड ६० लाख रुपैयाँ आर्जन गरेकोमा गत आर्थिक वर्षमा विक्री र मुनाफा दुवैमा गिरावट आएको उल्लेख छ ।
आर्थिक वर्ष ०७४०७५ मा २ अर्ब ४३ करोड ५० लाख रुपैयाँ खुद आम्दानीबाट करपछिको मुनाफा ८ करोड ३० लाख रुपैयाँ मात्र रहेको छ ।उद्योगले अम्बे, हाइटेक, मंगलम, सहारा र अम्बे मेट्रो ब्राण्डमा सिमेण्ट उत्पादन गर्छ । यस कम्पनीको चुक्ता पूँजी २८ करोड ५० लाख रुपैयाँ रहेको छ । भैरहवामा अम्बे स्टिल रहेको यो समूहको आगामी वैशाखमा नेपालगञ्जको नयाँ स्टिल उद्योग जय अम्बे पनि सञ्चालनमा आउँदै छ ।