हिमालयन रिइन्सुरेन्सको आइपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म शेयर
काठमाडौं । हिमालयन रिइन्सुरेन्सको आइपीओ आज बुधबार (पुस ११ गते) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार यस आइपीओमा १५ लाख ७३ हजार २१९ जनाको आवेदन परेको थियो । जसमा १५ लाख ६४ हजार ५६४ जनाको आवेदन मात्र योग्य भएको छ । ८ हजार ६५५ जनाको आवेदन रद्द भएको छ ।
यसमा १० कित्तादेखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसारकै सेयर पाएको बिक्री प्रबन्धकले जनाएको छ । ३० कित्ताभन्दा माथि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको छ । यस हिसाबमा २९ हजार २१ जनाले थप १० कित्ता सेयर पाएका छन् । अर्थात् २९ हजार २१ जनाले ४० कित्ता सेयर हात पार्न सफल भएका छन् ।
कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको थियो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा सेयर खुला गरेको थियो ।
रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी आइआर ए’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ । इक्रा नेपालले २०८० असार १८ गते यो रेटिङ दिएको हो ।
यो रेटिङ २०८१ असार १७ गतेसम्म बाहल रहनेछ । यसरी क्रेडिट रेटिङ रिपोर्टलाई आधार मान्ने हो भने यो कम्पनीको सेयर खासै जोखिम भने देंखिंदैन । लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, हिमालयन रिइन्सुरेन्स कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।