सार्वभौमिकताका लागि विदेशी च्यानलको विज्ञापनमा क्लिन फिड ː मन्त्री बास्कोटा |
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मुलुकको सार्वभौमिकताका लागि विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू गरिएको दावी गरेका छन् ।
शुक्रबार संसदको विधायन समितिमा विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले विदेशी च्यानलको विज्ञापनले देशभित्र पार्न सक्ने असर नियन्त्रण गर्न क्लिन फिडको व्यवस्था गरिएको बताएका हुन् ।
हरेक देशको आफ्नो सामाजिकरआर्थिक सम्बन्ध हुन्छ । समाजशास्त्रीय हिसावले पनि हेर्नुपर्ने हुन्छ । मिलेर बसिरहेका सम्प्रदायहरुको बीचमा कुनै भाषा शब्द वा कुनै विज्ञापनले नराम्रो असर पार्न सक्छ’ उनले भने ।
विधेयकको दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै सार्वभौमसत्तामा प्रभाव पार्ने, अन्तरराष्ट्रिय सम्बन्धमा प्रतिकूल प्रभाव पार्ने, भौगोलिक अखण्डता तथा राष्ट्रिय सुरक्षामा पार्ने विज्ञापन प्रकाशन गर्न नपाइने उल्लेख गरिएको छ ।
सञ्चारमन्त्री बास्कोटाले राष्ट्रिय झण्डाको दुरुपयोग गरी विज्ञापन गर्ने जस्ता गलत कार्य रोक्न विधेयक प्रभावकारी हुने बताए । विधयकको दफा १४ मा विज्ञापन नियमन गर्न बोर्डको ब्यवस्था छ । सरकारले नियुक्त गरेका व्यक्ति अध्यक्ष हुने बोर्डमा गृह, आपूर्ति, सञ्चार मन्त्रालयका एकरएक जना सह–सचिव सदस्य रहनेछन् ।