एनसेल विष्फोटनका एक घाइतेको मृत्यु, बाहिरी तीन जिललामा पनि आगजनी |
काठमाडौं । ललितपुरको नख्खुमा रहेको एनसेलको मुख्य कार्यालयमा गएराति भएको बम विस्फोटनका एक घाइतेको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त घटनामा घाइते भएका सिंहप्रताप गुरुङको मृत्यु भएको हो ।
लमजुङको मेलुङ घर भई ललितपुरको भैंसेपाटी बस्दै आएका ४९ वर्षीय गुरुङको राति साढे १२ बजेतिर मेडिसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार विस्फोटनमा घाइते हुने ललितपुर महानगरपालिका– ४, बागडोलकी २६ वर्षीया प्रतीक्षा खड्का र काभ्रेको बनेपा घर भई अहिले मेडिसिटी अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया उरुषा मानन्धरको सोही अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
प्रारम्भिक अनुसन्धानमा सुरक्षागार्ड गार्डको संलग्नता रहेको प्रहरीको दाबी
ललितपुरको नख्खुमा रहेको एनसेल टावरको मूल ढोकामा भएको बम विस्फोटनमा उक्त टावरकै सुरक्षामा खटिएका गार्डहरूको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले बताएको छ । प्रहरीले एनसेल टावरको सुरक्षामा खटिएका व्यक्तिहरूलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रयोग गरेको हुन सक्ने आशंका गरेको छ ।
बाहिरी जिल्ला रुपन्देही, नवलपरासी र कास्की पनि आगजनी
यसैबीच, रूपन्देही र नवलपरासी र कास्कीमा पनि एनसेलका टावरमा आगजनी भएको छ । प्रहरीका अनुसार रुपन्देहीको गैडहवा गाउँपालिका– ३, सूर्यपुरास्थित एनसेलको टावरमा आगजनी भएको हो । रुपन्देहीका एसपी हृदय थापाले अपरिचित व्यक्तिले बोरामा आगो सल्काएर टावरमा आगजनी गरेको जानकारी दिए । आगजनीले टावरका तार जलेर नष्ट भएका छन् ।
यस्तै, पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका– ७, अम्रसामा रहेको एनसेलको टावरमा आगजनी भएको छ । गएराति नौ बजेतिर एनसेलको टावरमा आगजनी भएको प्रहरीले बताएको हो ।
त्यस्तै, कास्कीको पोखरा महानगरपालिका–२७, चन्द्रकालिका डाँडाको नाकस्थित एनसेलको टावरमा पनि आगजनी गरिएको छ । गएराति करीब १० बजेको समयमा आगजनी भएको प्रहरी कार्यालय सिस्वाले बताएको छ ।