१४ महिनापछि कर्जाको ब्याजदर १२ प्रतिशत मुनि
काठमाडौं । कर्जाको औसत ब्याजदर १४ महिनापछि १२ प्रतिशत मुनि आएको छ। कात्तिकमा कर्जाको औसत ब्याजदर ११.९६ प्रतिशत छ।
बैंक तथा वित्तीय संस्थामा कर्जा लगानी योग्य पुँजी यथेष्ट रहेसँगै कर्जाको ब्याजदर घट्न थालेको हो। यस्तो ब्याजदर अधिकतम १३.०३ प्रतिशतसम्म पुगेको थियो। कर्जाको ब्याजदर ८ प्रतिशत बिन्दुले घटेको हो।
राष्ट्र बैंकले गत शुक्रबार मात्रै नीतिगत ब्याजदरहरू घटाएको छ। राष्ट्र बैंकले बैंक दरको रूपमा समेत रहेको स्थायी तरलता सुविधाको दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा झारेको छ।
त्यस्तै, ओभरनाइट रिपोको दर समेत ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेको छ।
बैंकहरूले राष्ट्र बैंकबाट सापट लिने दरहरू घटेपछि कर्जाको ब्याजदर समेत महिनाको मध्यमै घटाउन थालिसकेका छन्। यसले पुस महिनाको कर्जाको ब्याजदर थप घट्ने संकेत गरेको छ।