नेपालको विकासमा साथ दिन्छौ ː अस्ट्रियाली विदेशमन्त्री |
काठमाडौं । अष्ट्रिया र नेपालबीच मन्त्रीस्तरीय द्वीपक्षीय वार्ता सम्पन्न भएको छ । नेपालको तीन दिने भ्रमणमा बिहीबार नेपाल आइपुगेकी अष्ट्रियाकी युरोप तथा परराष्ट्र मामिला मन्त्री कारिन किन्सल र परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको प्रतिनिधि मण्डलबीच द्वीपक्षीय वार्ता सम्पन्न भएको हो ।
वार्ताका क्रममा दुई देशबीचको सम्बन्धलाई थप उचाईमा पुर्याउने विषयमा छलफल भएको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए । मन्त्री ज्ञवालीले नेपालको प्राथमिकता र नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपालीको अभियानका बारेमा अष्ट्रियाकी समकक्षीलाई जानकारी गराएको बताए । अष्ट्रियाको तर्फबाट नेपालको विकासमा सहयोग गर्ने प्रतिवद्धता प्राप्त भएको उनले जानकारी दिए ।
‘वार्ताका हामीहरुले द्वीपक्षीय सम्बन्धको समिक्षा गर्दै सम्बन्धलाई थप उचाइमा लैजान विषयमा छलफल भयो । हाम्रो सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन द्विपक्षीय तथा वहुपक्षीय फोरमहरुमा मिलेर काम गर्ने सहमति भएको छ ।’ द्विपक्षीय वार्तापछि आयोजित संयुक्त प्रेस ब्रिफिङ कार्यक्रममा मन्त्री ज्ञवालीले भने, ‘हामीले दुई देशबीच व्यापार, लगानी, प्रविधि हस्तान्तरण, दिगो विकास, वातावरण संरक्षण, क्लिन इनर्जी र अन्य साझेदारीका क्षेत्रहरुमा छलफल भयो ।’
छलफलका क्रममा नेपालले मार्चमा आयोजना गर्न लागेको लगानी सम्मेलनको जानकारी गराउँदै कार्यक्रममा अष्ट्रियाका लगानीकर्ताको सहभागिताका लागि आग्रह गरेको जानकारी गराए । त्यस्तै नेपाल भ्रमण वर्ष २०२०को कार्यक्रममा अष्ट्रियाका पर्यटकहरुको आगमन हुनेमा विश्वास व्यक्त गरे ।