भारतीय शेयर बजारले बिहीबार पुनः बनायाे नयाँ रेकर्ड, लगानीकर्ताको सम्पति एकै दिनमा ४० खर्बले बढ्यो
काठमाडौं । भारतीय सेयर बजार बिहीबार नयाँ उचाईमा पुगेको छ । पछिल्लो समय निरन्तरजसो बढिरहेको भारतीय सेयर बजारमा बिहीबार पनि उछाल आएपछि नयाँ अल टाइम हाई विन्दुमा पुगेको हो । ‘बीएसई सेन्सेक्स’ र ‘निफ्टी ५०’ दुवै इतिहासकै उच्च विन्दुमा बन्द भएका छन् । बिहीबार सेन्सेक्स ९२९ अंकले बढेर इतिहासकै उच्च ७०,५१४ विन्दुमा बन्द भएको छ ।
यता, अर्को सूचक निफ्टी पनि नयाँ उचाईमा बन्द भएको छ । यो सूचक २५६ अंकले बढेर हालसम्मकै उच्च २१,१८२ विन्दु बन्द भएको हो । इन्ट्रा डे कारोबारमा सेन्सेक्स ७०,५९५ र निफ्टी २१,२०८ को अल टाइम हाई विन्दुसम्म पुगेका थिए । अमेरिकी फेडरल रिजर्भको पछिल्लो बैठकले ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ ।
यद्दपि, आगामी वर्षमा ब्याजदर क्रमिकरुपमा कटौती गर्दै लैजाने संकेत गरेपछि भारतीय सेयर बजारमा पनि उत्साह देखिएको हो । फेडरल रिजर्भले ब्याजदर कटौती गर्ने संकेत गरेपछि अमेरिकी सेयर बजारमा पनि उछाल आएको थियो । बिहीबार भारतीय सेयर बजारमा उच्च वृद्धि हुँदा लगानीकर्ताको सम्पति एकै दिनमा ४० खर्ब भारतीय रुपैयाँले वृद्धि भएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।