आज नेपालबाट पनि वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा हेर्न सकिने, कतिबेला हेर्ने ?
काठमाडौं । बिहीबार राति नेपालबाट पनि उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने भएको छ । यदि आकाश खुलेको रहेछ भने नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिन्छ ।
खगोलविदहरुले यो उल्का वर्षालाई ‘जेमिनिड्स’ नाम दिएका छन् । आकाशमा जेमिनाई अर्थात् मिथुन राशितिरबाट आएको देखिने भएकाले यो उल्का वर्षालाई वैज्ञानिकहरुले ‘जेमिनिड्स’ नाम दिएका हुन् ।
अमेरिकाको अन्तरिक्ष अन्वेषण निकाय नासाले जेमिनिड्सलाई यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा भनेको छ । किनकि यो उल्का वर्षा विभिन्न रंगमा देखिने छ । आगोको गोलाजस्तो रंगीचंगी वस्तु आकाशबाट तलतिर खसिरहेको देखिने भएकाले यो रोचक खगोलीय घटना अवलोकनमा उत्सुकता बढेको छ ।
नेपालबाट कति बेला अवलोकन गर्ने ?
नेपालमा स्थानीय समयानुसार बिहीवार मध्यरातपछि उल्का वर्षा अवलोकन गर्न सकिन्छ । वाल्मीकि विद्यापीठमा ज्योतिषशास्त्रका प्राध्यापक डा. जयन्त आचार्यका अनुसार नेपालको जुनसुकै ठाउँबाट बिहीवार मध्यरातपछि बिहानीपख ३-४ बजेसम्म उल्का वर्षालाई अवलोकन गर्न सकिन्छ । यो उल्का वर्षालाई खाली आँखाले नै हेर्न सकिन्छ ।
डा. आचार्यले भने, ‘नेपालको जुनसुकै ठाउँबाट पूर्वतिर फर्किएर आकाशमा हेर्ने हो भने राति १२ बजेदेखि बिहान ३–४ बजेसम्म जेमिनिड्स उल्का वर्षा देखिन्छ ।’ यो धेरै संख्यामा स्पष्ट देखिने भएकाले अरु उल्का वर्षाभन्दा विशेष मानिएको उनले बताए ।
वैज्ञानिकहरुका अनुसार जेमिनिड्स उल्का वर्षा हरेक वर्ष डिसेम्बर मध्यतिर हुन्छ । यस वर्ष यो २० डिसेम्बरसम्म हुनेछ । तर उत्कर्षमा पुग्ने बिहीबार र शुक्रबार हो । त्यसैले यसलाई अवलोकन गर्ने उपयुक्त दिन बिहीबारलाई लिइएको छ ।
नेपालसहित संसारका सबै भागबाट प्रत्येक घण्टा १०० देखि १२० वटासम्म जेमिनिड्स उल्का वर्षा देख्न सकिने बताइएको छ ।
के हो उल्का वर्षा ?
मानिसको जिज्ञासालाई सभ्यताको सुरुदेखि नै निरन्तर मलजल गरिराख्ने एउटा खगोलीय घटना हो, उल्का वर्षा। हाम्रो सौर्य मण्डलको सृष्टिको समयमा ग्रह, उपग्रह, लघुग्रहसँगै धुमकेतु वा पुच्छ्रेताराहरु पनि बनेको मानिन्छ। जसमध्ये धुमकेतु वा पुच्छ्रेतारा जीवनको सृष्टिका लागि चाहिने तत्व तथा यौगिकका साथै पानीको स्रोत मानिन्छ।
यी पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा यसमा रहेका पदार्थहरु बाफ बन्न गई पुच्छर बन्ने र टुक्रने क्रममा ती कणहरुले पुच्छ्रेतारासँगै सूर्यलाई परिक्रमा गर्ने गर्छन्। यसरी परिक्रमा गर्ने क्रममा ती कणहरु हाम्रो पृथ्वीको वायुमण्डलसँग घर्षण भई पृथ्वीको सतहदेखि करिब ७० किलोमिटर माथि जलेर आगोको झिल्को जस्तो उज्यालो देखिनुलाई उल्का भनिन्छ। यसरी जल्ने क्रममा पृथ्वीको सतहसम्म आइपुगे उल्कापिण्ड भन्ने चलन छ।
यदि पृथ्वीको सतहबाट प्रतिघन्टा १० वा त्योभन्दा बढी उल्का देखिएमा त्यस्तो दृश्य वा घटनालाई उल्का वर्षा भन्ने चलन छ।
उल्का वर्षाको नाम कसरी राखिन्छ ?
उल्का वर्षाको समयमा उल्काहरु सामान्यतया आकाशको एउटा निश्चित बिन्दुबाट निस्किएजस्तो देखिन्छ। यस्तो बिन्दु जुन तारामण्डलमा पर्छ त्यसै अनुसार उल्का वर्र्षाको नाम राखिन्छ। उदाहरणका लागि यदि उल्काको स्रोत ययाति तारामण्डलको क्षेत्रभित्र परे त्यसलाई ययाति उल्कवर्र्षा भनिन्छ।
उल्का वर्षा हेर्ने उत्तम समय कहिले हो ?
सामान्यतः उल्का हेर्नको लागि उत्तम समय भनेको मध्यरातदेखि सुर्योदय हुनुभन्दा पहिलेसम्म हो। अझ आकशमा चन्द्रमाको उपस्थिति नभएको समय उत्तम मानिन्छ। उल्का वर्षा देखिनका लागि उल्काको केन्द्रबिन्दु हाम्रो आकाशमा उदाउन आवश्यक छ। दक्षिणी गोलार्धबाट मात्र देखिने तारामण्डलसँग सम्बन्धित उल्का वर्षा हाम्रो गोलार्धबाट देखिँदैन।
औँसीको समयमा उल्का वर्षा हेर्नु उत्तम मानिन्छ। प्रायः हरेक महिना कुनै न कुनै क्षेत्रमा उल्का वर्षा भइरहे पनि नेपालबाट भने असार, साउन र भदौ महिनाबाहेक अन्य महिनामा उल्का वर्षा हेर्न सकिन्छ। त्यसमा पनि मङ्सिर, पुष, माघ र फागुन महिनामा आकाश खुल्ला रहने हुँदा अवलोकनको लागि उत्तम मानिन्छ।
उल्का वर्षा किन हेरिन्छ ?
सामान्यतः उल्का वर्षाको अवलोकन मनोरञ्जनका लागि गरिए पनि वैज्ञानिक हिसाबले यसको ठूलो महत्व छ। उल्का वर्षाको नियमित अवलोकनले अन्तरिक्षमा पुच्छ्रेताराका कारण छरिएर रहेका धुलाका कणहरुको वास्तविक आँकलन गर्न सकिन्छ।
साथै, अन्तरिक्षयान पठाउँदा यस्ता कणहरु ठोकिएर हुने दुर्घटनाबाट अन्तरिक्षयानलाई बचाउन सकिन्छ। साथै ती कणहरुमा भएका रासायनिक पदार्थका बारेमा जानकारी लिन सकिन्छ। यस्ता क्रियाकलापले मानवको सौर्यमण्डलको उत्पत्ति तथा ब्रह्माण्डको खोज अनुसन्धानलाई थप टेवा पुर्याउँछ।