ब्रोकरसँग छलफलपछि धितोपत्र बोर्डले भन्यो, ‘संयमित हुनुहोस्’ |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आज ब्रोकरहरु सँग छलफल गरेको छ । छलफलमा बोर्डले ब्रोकरहरुलाई संयमित भएर अघि बढ्न आग्रह गरेको छ । पुँजी बजार सुधारका काम अघि बढिरहेको सन्दर्भमा कँही कतै भ्रम वा दुविधा भएमा छलफल र सहकार्यका माध्यमबाट अघि बढ्न सक्नेतर्फ पनि बोर्डले ध्यानाकर्षण गराएको छ ।
धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले अर्थ समितिको बैठकमा आफूहरुलाई अनावश्यक लान्छना लगाएको भन्दै उनीहरुले बिहीबार बोर्डमा ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र अध्ययनपछि बोर्ड अध्यक्षले छलफलका लागि शुक्रबार ब्रोकरहरुलाई बोलाएको थियो । तर छलफलबाट कुनै पनि निष्कर्ष नआएको ब्रोकरहरुले बताएका छन् ।
सोही वार्तापछि धितोपत्र बोर्डले ब्रोकर सहित सरोकारवाला सबैलाई संयमित रहन आग्रह गर्दै विज्ञप्ति जारी गरेको छ । ब्रोकरहरुको कार्य क्षेत्र विस्तार र बैंकलाई ब्रोकर लाइसेन्स दिने कार्य अघि बढिरहेको समेत बोर्डले स्मरण गराएको छ ।