धुलिखेल जिपलाइनमा ‘विन्टर अफर’, कति लाग्छ शुल्क ?
काठमाडौं । नेपालकै पहिलो सुपरम्यान जिपलाइन सञ्चालनमा ल्याएर देशभर जिपलाइनको माहोल सिर्जना गर्न सफल भएको धुलिखेल जिपलाइनले ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । अफर अन्तर्गत सबैखाले जिपलाइन खेल्दा २० प्रतिशत छुट पाइनेछ ।
नेपालमा जिपलाइन सुरू भएको करिब एक दशकसम्म जिपलाइन खेल्नकै लागि झन्डै १० हजार छुट्याउनुपर्ने समयमा धुलिखेलमा ३ हजारमा फोटो, भिडिओसहित जिपलाइन नै खेल्न पाइने भएपछि यसप्रति आकर्षण ह्वात्तै बढेको हो । राजधानी नजिकै भएकाले पनि धुलिखेल यसको सहज गन्तव्य बनेको छ । सर्वसुलभ मूल्य धुलिखेल जिपलाइनको अर्को आकर्षण बन्यो ।
क्लासिक जिपलाइन, उडेझैं खेल्न मिल्ने सुपरम्यान जिपलाइन र टेण्डम (दुई जनासँगै खेल्न मिल्ने) जिपलाइन वर्ल्ड–वाइड एडभेन्चर प्रालिले धुलिखेलमा सञ्चालनमा ल्याएको ४ वर्ष भएको छ । सुपरम्यान र टेण्डम जिपलाइन नेपालमै पहिलोपटक धुलिखेलमा सुरू गरिएको हो । धुलिखेल नगरपालिकाको थाक्लेदेखि ११ सय मिटरको जिपलाइनले पाँचखालको खावालाई जोडेको छ । जिपलाइन औसत ७५ किमि प्रतिघण्टाको गतिमा हुत्तिन्छ ।
करिब ३०० मिटर भर्टिकल ड्रपमा उडिरहँदा नजिकका खेतबारी, जङ्गलको हरियालीसँगै लाङटाङ, दोर्जे लाक्पा, फुर्बीच्याचु लगायतका हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ । सिन्धुपाल्चोकका केदार थापा र काठमाडौंका भुपेश श्रेष्ठले धुलिखेल जिपलाइन सुरू गरेका हुन् । युरोपियन र अमेरिकी सुरक्षा मापदण्डमा आधारित भएर निर्माण गरिएको र सुरक्षामा कुनै कसर बाँकी नराख्ने भएकाले ढुक्कसँग जिपलाइनको मज्जा लिन सकिने सञ्चालक बताउँछन् ।
कति लाग्छ शुल्क ?
क्लासिक जिपलाइन २५ सय रुपैयाँ रहेकोमा छुटपछि जम्मा २ हजार रुपैयाँमा खेल्न सकिन्छ । सुपरम्यान ३५ सय रुपैयाँ रहेकोमा छुटपछि जम्मा २८ सय रुपैयाँमा खेल्न पाइन्छ । टेन्डम (जोडी) खेल्दा ४ हजार ५ सय रहेकोमा छुटपछि जम्मा ३६ सय रुपैयाँमा जीपलाइनको मज्जा लिन सकिन्छ । यो अफर डिसेम्बर २८ सम्म उपलब्ध रहेको सञ्चालकले जानकारी दिए ।