यूटीएलसँग अप्टिकल फाइबर बिछ्याउन गरिएको सम्झौता रद्द |
काठमाडौं । सरकारले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) सँग अप्टिकल फाइबर बिछ्याउन गरिएको सम्झौता रद्द गरेको छ । यूटीएलले गोरखाको आरुघाटदेखि रुकुमको मुसिकोटसम्म अप्टिकल फाइबर बिछ्याउने जिम्मा पाएको थियो ।
मन्त्रिपरिषद्को बैठकले काम गर्न नसक्ने ठहर गर्दै यूटीएलसँग भएको सम्झौता रद्द गरेको सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले बताए । अब यी दुई प्रदेशमा अप्टिकल फाइबर बिछ्याउने कामको जिम्मा नेपाल टेलिकमले पाएको छ । यूटीएलले आगामी बैशाख १५ गतेसम्म काम नै सक्नुपर्ने थियो । तर, काम नै नथालेपछि सम्झौता भंग गरिएको हो ।
यो कामका लागि २०७४ वैशाखमा दूरसञ्चार प्राधिकरण र यूटिएलबीच सम्झौता भएको थियो । यसका लागि यूटिएललाई ग्रामीण दूरसञ्चार कोषबाट दुई अर्ब एक करोड रुपैयाँ दिइको थियो ।
प्रदेश ६ र ७ मा रुकुमको मुसिकोटदेखि दार्चुलाको झुलाघाटसम्म अप्टिकल फाइबर बिछ्याउन स्मार्ट टेलिकमले जिम्मा पाएपनि त्यहाँ पनि कामको गति सुस्त छ । स्मार्टले ३ अर्ब ९४ लाख रुपैयाँमा यो कामको जिम्मा लिएको छ ।
नेपाल टेलिकमले प्रदेश नम्बर १, २ र ३ मा पाँचथरको चियोभन्ज्याङदेखि गोरखाको आरुघाटसम्म अप्टिकल फाइबर बिछ्याउन काम गरिरहेको छ ।
गुणस्तरीय इन्टरनेटको पहुँच विस्तारका लागि सरकारले देशभर अप्टिकल फाइबर बिछ्याउन काम गरिरहेको छ । तर, काममा ढिलाइ भएपछि २०१८ भित्र सबै जिल्ला सदरमुकामलाई अप्टिकल फाइबर सञ्जालले जोड्ने सरकारी लक्ष्य पूरा हुन सकेन ।