शर्ट भिडियो शेयरिङ प्लेटफर्म ‘रमाइलो’ अब आइफोनमा पनि
काठमाडौं । छोटो समयमै प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको नेपाली शर्ट भिडियो शेयरिङ प्लेटफर्म ‘रमाइलो’ मोबाइल एप अब आइफोन प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ । आइफोन प्रयोगकर्ताले आफ्नो एप स्टोरबाट डाउनलोड गरी चलाउन सकिने रमाइलो एपका सह-संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत (सीईओ) गृहेन्द्र घिमिरेले जानकारी दिए ।
यसअघि रमाइलो एप एन्ड्रोइड मोबाइल फोन प्रयोगकर्ताहरूले मात्र प्रयोग गर्न पाउने गरेकोमा अब भने आइफोन प्रयोगकर्ताका लागि उपलब्ध भएको हो ।
टिकटक बन्द भएपछि नेपालमा सञ्चालनमा आएको छोटा भिडियोहरू शेयर गर्ने प्लेटफर्म ‘रमाइलो’ मोबाइल एप एन्ड्रोइड भर्सनमा करिब दुई सातामै एक लाख भन्दा बढीपटक डाउनलोड भएको छ । आईफोन प्रयोगकर्ताहरूले पनि यो एप रुचाउने विश्वास लिइएको सीईओ घिमिरे बताउँछन् । ‘आईफोन प्रयोगकर्ताहरूले रमाइलोबारे धेरै नै चासो देखाउनुभएको छ । उहाँहरूका लागि पनि अब एप उपलब्ध गराउन पाउँदा निकै उत्साहित छौं,’ उनले भने ।
रमाइलो एपको एन्ड्रोइड भर्सनमा दैनिक करिब एक लाख सक्रिय प्रयोगकर्ता रहेको उनले जानकारी दिए ।
पछिल्ला दिनमा निकै रुचाइएको यस एपमा सुधार भइरहेको कम्पनीले जनाएको छ । एप सार्वजनिक गरेको आईडिया जार कम्पनीले एपलाई परिस्कृत गर्दै गइरहेको छ । एपमा अहिले डार्क मोड, शर्ट्स लगायत अन्य फिचर थपिएको घिमिरेले जानकारी दिए । यसबाहेक आफ्ना साथीसँग कुरा गर्न मिल्ने, लाइभ बस्न मिल्ने तथा आईडी भेरिफाइड गर्ने जस्ता फिचरहरू सार्वजनिक गरिएको छ ।
कम्पनीले प्रयोगकर्ताहरूबाट सुझावहरू संकलन गरिरहेको र सोही अनुसार सुधार गर्दै लगेको जानकारी दिएको छ ।
रमाइलो एप http://bit.ly/3RyjaOs लिंकमा क्लिक गरी गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।