भारतमा तेस्रो स्टक एक्सचेन्जले पनि कारोबार सुरु गर्दै
काठमाडौँ । छिमेकी राष्ट्र भारतमा १० वर्षपछि कलकत्ता स्टक एक्सचेन्ज पुनः सुरु हुने भएको छ । सन् २०२४ मार्च–अप्रिलबाट देशको तेस्रो इक्विटी एक्सचेन्जको रुपमा कलकत्ता स्टक एक्सचेन्जले पुनरागमन गर्ने भएको हो । कलकत्ता स्टक एक्सचेन्जका प्रमुख महाप्रबन्धक धिरज चक्रवर्तीले प्रेस ट्रस्ट अफ इन्डियासँग कुरा गर्दै देशको तेश्रो स्टक एक्सचेन्जका रुपमा कलकत्ता छिट्टै फिर्ता आउने सकारात्मक संकेत देखिएको बताएका हुन्।
उनले एक्सचेन्जका तर्फबाट गर्नुपर्ने केही नियामकीय प्रक्रियाहरु जनवरीसम्ममा सक्ने र आगामी मार्च–अप्रिलमा नयाँ प्राविधिका साथ स्वतन्त्र स्टक एक्सचेन्जका रुपमा पुनः सेवा सुरुवात गर्ने बताए । ब्रिटिस उपनिवेश हुँदा तत्कालीन भारतको राजधानी कलकत्ता भारतको व्यापारिक केन्द्र थियो । कलकत्तामा सेयर कारोबारको इतिहास सन् १८३० देखि भएता पनि कलकत्ता स्टक एक्सचेन्ज भारतको दोश्रो स्टक एक्सचेन्जको रुपमा सन् १९०८ मा स्थापना भएको थियो ।
सन् १९९२ को हर्सद मेहता घोटालापछि सन् १९९४ मा भारतमा नेसनल स्टक एक्सचेन्ज स्थापना भयो । त्यासपछि, कम्पनीहरु नेसनल स्टक एक्सचेन्जमा सूचीकृत हुन थाले । जसको प्रत्यक्ष प्रभाव अन्य स्टक एक्सचेन्जमा पर्यो । इन्डिया टाइम्सका अनुसार सन् १९९४ मा भारतमा नेसनल स्टक एक्सचेन्ज स्थापना भएपछि अन्य १९ क्षेत्रीय स्टक एक्सचेन्ज बन्द हुन पुगेका थिए ।
नेशनल स्टक एक्सचेन्ज सुरुवातपछि कलकत्ता स्टक एक्सचेन्जको कारोबार भोल्युम घट्न पुग्यो । आफूलाई बजारमा स्थापित गराउन कलकत्ता स्टक एक्सचेन्जले सन १९९७ मा डिजिटल कारोबार सिस्टम सुरुवात गरेता पनि कलकत्ता स्टक एक्सचेन्जले बम्बई स्टक एक्सचेन्ज र नेसनल स्टक एक्सचेन्जसँग प्रतिस्प्रधा गर्न सकेन् ।
सन् २०१३ मा सेयर कारोबारमा अनियमितता र नियामकीय कारणले कलकत्ता स्टक एक्सचेन्जलाई भारतको धितोपत्र बजार नियामक सेबीले कारोबारमा प्रतिबन्ध लगाएको थियो । कलकत्ता स्टक एक्सचेन्जमार्फत कारोबार बन्द भएपछि यसमा सूचीकृत कम्पनीहरुलाई नेसनल स्टकको प्लेटफर्म प्रयोग गरी कारोबार गर्न दिइँदै आएको छ ।
भारतमा हाल बम्बई स्टक एक्सचेन्ज र नेसनल स्टक एक्सचेन्ज दुई प्रमुख राष्ट्रियस्तरका स्टक एक्सचेन्ज रहेका छन् ।