शिवम् सिमेन्टको आईपीओमा साढे ६५ करोडभन्दा बढीको आवेदन पर्यो |
काठमाडौं । आजसम्म शिवम् सिमेन्ट लिमिटेडको आईपीओमा साढे ६५ करोड रुपैयाँभन्दा बढीको आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बुधबार दिउँँसो साढे २ बजेसम्म २१ हजार ४३४ आवेदनबाट ६५ करोड ५८ लाख २१ हजार रुपैयाँ बराबरको २१ लाख ८६ हजार ७० कित्ता शेयर माग भएको हो ।
फागुन ६ देखि ९ गतेसम्म शेयर आवेदन दिन पाउने छन् । शिवम्ले एक सय रुपैयाँ अंकित दरमा २ सय रुपैयाँ प्रिमियम थप गरेर सर्वसाधारणका लागि ३ सय रुपैयाँका दरले ४१ लाख २० हजार कित्ता शेयरको विक्री खुला गरेको हो ।
यो सिमेन्टले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई भने २ सयमै शेयर विक्री खुला गरेको छ । यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई ३ सय रुपैयाँमै शेयर विक्री खुला गर्दा ८ लाख ८० हजार कित्तामध्ये जम्मा २ लाख २४० कित्ताको मात्रै आवेदन परेपछि एक सय रुपैयाँ घटाएको हो ।
यसले यो शेयरवापत संगठित संस्थाका कर्मचारीलाई २ लाख २० हजार कित्ता, सामूहिक लगानी कोषलाई २ लाख २० हजार कित्ता शेयर छुट्याएकोमा माग बमोजिमको ६० हजार कित्ता शेयर बाँडफाँड गरेर बाँकी रहेको ४१ लाख २० हजार कित्ता साधारण शेयरको सर्वसाधारणलाई विक्री खुला गरेको हो ।
यसको शेयरका निम्ति सर्वसाधारणले न्यूनमत ५० कित्तादेखि अधिकतम ४१ लाख २० हजार कित्तासम्मकै लागि आवेदन दिन सकिने सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ । उद्योग प्रभावित क्षेत्रका बासिन्दाले पनि न्युनतम ५० कित्तादेखि अधिकतम् बिक्री खुला भएको ५ लाख ७९ हजार ६४० कित्ताकै लागि आवेदन दिन सक्ने छन् ।
इक्रा नेपाल लिमिटेडले कम्पनीको शेयरलाई क्रेडिट रेटिङ्ग ग्रेड ३ प्लस प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसत रहेको जनाउँछ । शिवम् सिमेन्टको आईपीओमा एनआईबीएल एस क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सीबीआईएल क्यापिटल लिमिटेडले शेयर प्रत्याभूति गरेका छन् ।