राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यका लागि हु्ने चुनावको कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज एक विज्ञप्ति जारी गर्दै माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेका हुन् । उनका अनुसार मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन गरिनेछ । जसका लागि राजनीतिक दलहरुले मंसिर २४ देखि २९ गतेसम्म दल दर्ता गर्नुपर्नेछ ।
‘दल दर्ता भएपश्चात पुस १ गते राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइनेछ,’ निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वीकृत कार्यतालिका अनुसार २०८०/०९/१६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ ।’
यस्तै आयोगका अनुसार पुस २० देखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानको कार्य सञ्चालन गर्ने आयोगले कार्यतालिका सार्वजनिक गरेको छ ।