सात महिनामै ५ अर्ब सकिएपछि गौतमबुद्ध विमानस्थललाई सरकारले दियो ४ अर्ब |
काठमाडौं । सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका लागि थप ४ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । उक्त विमानस्थलका लागि चालू आवमा प्रभावित स्थानीय जनताका लागि मुआब्जा वितरण गर्न भनेर छुट्याइएको ५ अर्ब बजेट सकिएकाले अर्थ मन्त्रालयले थप ४ अर्ब बजेट रकमान्तर गरिदिएको हो ।
आयोजना प्रभावित स्थानीयलाई मुआब्जा दिन दुई शीर्षकबाट थप ४ अर्ब रकमान्तर गरिएको अर्थ मन्त्रालयले बताएको छ । पहिला छुट्याइएको ५ अर्ब रकम मुआब्जा वितरण् गर्दा सात महिनामै सकिएपछि आयोजनाले थप ८ अर्ब रुपैयाँ माग गर्दै मन्त्रालयमा प्रस्ताव पठाएको थियो । विमानस्थलका लागि दुई वर्षअघिदेखि झण्डै २ सय ८८ विगाह जग्गा अधिग्रहण गर्न गतआवबाटै मुआब्जा बितरण थालिएको थियो ।
७९ विगाहा क्षेत्रफलको साविकको भैरहवा विमानस्थललाई नै सबै जग्गा अधिग्रहणपश्चात विमानस्थलको कुल क्षेत्रफल ७ सय १५ विगाहा पुर्याइने भएको हो । हालसम्म आयोजना प्रभावितलाई १४ अर्ब रुपैयाँ मुआब्जा वितरण भइसकेको छ । पहिलो चरणको काम मुआब्जा वितरणमा मात्रै २३ अर्ब खर्च हुने अनुमान गरिएको छ ।
सरकारले अर्काे वर्षसम्म उक्त विमानस्थल सञ्चालनमा ल्याउने बताउँदै आएको छ । पहिलो चरणको काम सकिएपछि दोस्रो चरणमा विमानस्थलका अन्य भौतिक पूर्वाधारको निर्माण शुरू हुनेछ ।