धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को संशोधन | जनताको जलविद्युत् कार्यक्रमलाई अग्रिम शेयर विक्री गर्न खुल्यो बाटो
काठमाडौं । ‘जनताको जलविद्युत् कार्यक्रम’का लागि लगानीकर्ताले शुरूमै १० प्रतिशत रकम दाखिला गरी शेयर आवेदन माग गर्न सक्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ संशोधन गरी त्यस्तो व्यवस्था गरेको हो ।
संशोधित नियमालीअनुसार अबदेखि सरकारको कम्तीमा ५१ प्रतिशत शेयर स्वामित्व भएको आयोजनाको विस्तृत डिजाइन प्रतिवेदन वा आयोजनाको कूल लागत अनुमान र निर्माण अवधि खुलाई तयार गरिएको आधिकारिक विवरणका आधारमा शेयर रकमको कम्तीमा १० प्रतिशत रकम उठाउन पाउने व्यवस्था बोर्डले गरेको छ ।
साथै, आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भइसकेको वा सोको लागि आशयपत्र प्राप्त भएको अवस्थामा सरकारबाट स्वीकृत कार्यक्रमबमोजिम सर्वसाधारणबाट पूँजी संकलन गरी जलविद्युत् आयोजना निर्माण गर्न शेयर विक्री गर्न सक्ने व्यवस्था गरिएको छ ।
शेयर आवेदन गर्ने आवेदकलाई शेयर बाँडफाँट हुने भएमा कम्पनीको १० प्रतिशत चुक्ता भएको शेयर प्रदान गरिने र त्यस्तो शेयरधनीलाई कम्पनीले सरकारले निर्धारित गरेको वार्षिक प्रतिफल प्रदान गर्न सक्ने र त्यस्तो प्रतिफल शेयरको चुक्ता हुन बाँकी रकममा समेत मिलान गर्न सकिने व्यवस्था गरिएको छ ।
शेयरको रकम शत्प्रतिशत चुक्ता भएपश्चात् त्यस्तो शेयर धितोपत्रको दोस्रो बजारमा कारोबार हुन सक्ने व्यवस्थासमेत बोर्डले गरेको छ ।शेयरको चुक्ता हुन बाँकी रकम प्राप्त नभएमा कम्पनीले त्यसरी चुक्ता हुन बाँकी रकमबराबरको शेयर अन्य इच्छुक खरीदकर्तालाई एक महीनाको समय अवधि दिई सार्वजनिक सूचना जारी गरी विक्री गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।
त्यसरी सूचना जारी गर्दासमेत शेयर बिक्री नभए संस्थापक शेयरधनी वा नेपाल सरकारको नाममा रहने गरी आवश्यक व्यवस्था गरिएको बोर्डले बताएको छ ।