टिपरका लागि मोरङमा अब टाइम कार्ड लागू हुँदै, छिटो पुगे कारबाही |
विराटनगर । मोरङ प्रहरीले टिपरका लागि टाइम कार्ड लागू गर्ने तयारी गरेको छ । टिपरको गतिले बजारक्षेत्रमा दुर्घटनाको जोखिम बढेको भन्दै प्रहरीले त्यस्तो व्यवस्था गर्न लागेको हो ।
यसअघि प्रदेश १ मा बिहान र बेलुका गरी जम्मा ४ घण्टा मुख्य राजमार्गमा टिपर कुदाउन प्रतिबन्ध छ । त्यसबाहेक मोरङ ट्राफिकले छुट्टै टाइम कार्ड लागू गर्ने तयारी गरेको हो । प्रहरीका अनुसार अब लागू गरिने कार्डमा पुग्नुपर्ने दूरीको न्यूनतम समय निर्धारण गरिनेछ । कार्डमा तोकिएको समयभन्दा छिटो पुगे टिपरलाई कारबाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिवकुमार पोखरेलले भने, ‘व्यवसायीसँगको छलफलपछि ट्राफिक प्रहरीले दूरीअनुसारको समय निर्धारण गरिन्छ ।’
उनका अनुसार कार्ड लागू भएपछि मुख्य राजमार्गमा खटिएका ट्राफिक प्रहरीले ड्राइभरलाई दिएको कार्डमा हिँडेको समय र पुग्नुपर्ने समय लेखिदिएका हुन्छन् । कार्डमा लेखिएको समय अर्को स्टेशनमा बस्ने ट्राफिकलाई म्यासेज पनि गरिएको हुन्छ । म्यासेज र कार्डमा लेखिएको समयभन्दा छिटो पुगे ड्युटीमा रहेका प्रहरीले जरिवाना गर्नेछन् । उनले भने, ‘दूरीअनुसार पुग्नुपर्ने गरी समय सीमा निर्धारण हुन्छ, उक्त समयभन्दा अघि पुगे जरिवाना गर्छौं ।’
जिल्ला ट्राफिक प्रहरीका अनुसार गत साउनदेखि यता टिपरका कारण २० वटा सवारी दुर्घटना भइसकेका छन् । जसमा १० जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका थिए । मोरङमा मात्र ८ वटा टिपर दुर्घटना भएको प्रहरी तथ्यांकमा उल्लेख छ ।
टिपरका कारण बढी समस्या देखिएपछि नियमन गर्न कडाइका साथ टाइमकार्ड लागू गर्न लागिएको जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी घनश्याम श्रेष्ठले बताए ।