अमेरिकी डलर फेरि नयाँ उचाइमा, एक अमेरिकी डलरको विनिमय दर १३३.६८ रुपैयाँ
डलर बलियो हुँदा नेपाललाई केही लाभ केही नोक्सानी
काठमाडौं । अमेरिकी डलर हालसम्मकै महँगो भएको छ। गत बुधबार १३३ रुपैयाँ ६८ पैसा पुगेर नयाँ रेकर्ड बनाएको डलरको भाउ, यस दिन सोभन्दा पनि महँगिएको हो।
नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार आज अर्थात आइतबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ७० पैसा पुगेको छ। अघिल्लो रेकर्डभन्दा यस दिन डलरको भाउ २ पैसा बढेको हो। अब एक अमेरिकी डलर साट्न १३३ रुपैयाँ ७० पैसा खर्च गर्नुपर्ने भएको छ।
अमेरिकी डलरको तुलनामा भारतीय रुपियाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोर भएको हो।भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो।
के लाभ, कस्तो नोक्सानी ?
डलर बलियो बन्दा नेपाललाई लाभ पनि हुन्छ । हालको अवस्थामा सबैभन्दा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ । डलर बलियो हुँदा एकातिर रेमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम) बढ्छ भने अर्कोतिर रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ । डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउँछन् । डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पार्छ ।
यसरी रेमिट्यान्स र एफडीआईमा आएको सुधारले मुलुकको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ । नेपालले पर्यटन र निर्यातमा राम्रो सुधार गरेर पनि डलर बलियो हुनुको लाभ लिन सक्थ्यो । अहिले पर्यटक बढ्ने र निर्यात बढाउने सम्भावना पनि छैन । अहिले दसैं र तिहारको महिना भएकाले डलरको भाउ बढ्दा नेपाल आउने रेमिट्यान्स आप्रवाहमा भने सकारात्मक प्रभाव पर्न थालेको तथ्यांकहरूले देखाएका छन् । डलरको भाउ बढ्दा सबैभन्दा बढी नोक्सानी वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा हुन्छ । आयात बढ्दो गतिमा रहेकाले त्यसबापत भुक्तानी गर्नुपर्ने दायित्व पनि बढिरहेको छ । नेरु कमजोर हुँदा वैदेशिक ऋण लगानी भुक्तानीको दायित्व बढ्छ । विदेशबाट लिएको ऋणको साँवाब्याज भुक्तानीका लागि पनि धेरै रकम तिर्नुपर्छ ।
विदेशमा औषधोपचार, अध्ययन, भ्रमणलगायतमा जानेहरूको लागत महँगो पर्छ । निरन्तर नेरु कमजोर बन्दै जाँदा भुक्तानी दायित्व बढ्ने मात्र नभएर स्वदेशी मुद्राप्रतिको विश्वासमा पनि कमी आउँछ । समग्रमा नेपालको व्यापार घाटा उच्च भएकाले डलरको भाउ बढ्दा मुलुकलाई पर्ने नोक्सानी धेरै रहेको जानकार बताउँछन् ।