एक्सेल डेभलपमेण्ट बैंकको साधारणसभा चैत ११ गते | १७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुँदै
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको तेह्रौं वार्षिक साधारणसभा चैत ११ गते बस्ने भएको छ । सभाले करसहित १७ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्नेछ । बैंकले उक्त लाभांश गतवर्षको मुनाफाबाट वितरण गर्न लागेको हो ।
साथै, बैंकले हालको चुक्ता पूँजीको ५५ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्तावलाई पनि सभामा लैजाँदै छ । साधारणसभाको प्रयोजनका लागि बैंकले यही फागुन २७ देखि चैत ११ गतेसम्म बुक क्लोज गर्ने बताएको छ । हाल एक्सेलको चुक्ता पूँजी ६९ करोड २६ लाख रुपैयाँ रहेको छ । ५५ प्रतिशत हकप्रदपश्चात् संस्थाको चुक्ता पूँजी १ अर्ब ७ करोड रुपैयाँ नाघ्नेछ ।
त्यसैगरी, बैंकको अधिकृत पूँजी १ अर्बबाट बढाएर १ अर्ब ५० करोड रुपैयाँ पुर्याउने प्रस्तावलाई सभाले अनुमोदन गर्दै छ ।