सडक निर्माण र लगानीबारे चेम्बर र चिनियाँ राजदूतबीच छलफल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सीमामा सुविधासम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरणका लागि चिनियाँ राजदूत समक्ष आग्रह गरेको छ । मुख्य व्यापारिक साझेदार चीनसँगको सीमामा सुविधासम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरणका लागि चेम्बरले आग्रह गरेको हो ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारी र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्गबीच दुई मुलुकको व्यापार, लगानी एवं पर्यटन क्षेत्रमा सहकार्य गर्ने सम्वन्धमा छलफल भएको हो ।
राजदूत सोङ्गसँगको भेटवार्तामा अध्यक्ष मल्लले भने, ‘चीन नेपालको मुख्य व्यापारिक साझेदारी राष्ट्र हो, दुई देशको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरण गर्न आवश्यक छ । स्याफ्रुबेंशी-केरुङ सडक निर्माणका लागि पहल गर्न पनि आग्रह गर्दछु ।’
चीनसँग व्यापार खाडल उच्च रहेको भन्दै अध्यक्ष मल्लले नेपाली बस्तुको निर्यात वृद्धिका लागि पहल गर्न समेत आग्रह गरे । नेपालले चीनबाट वार्षिक २ खर्ब २२ अर्ब रुपैयाँ बराबरको आयात गर्दा निर्यात भने १ अर्ब ७६ करोड रुपैयाँ हाराहारीमा गर्दै आएको छ ।
नेपालको जलविद्युत, पर्यटन एवं सूचना प्रविधिको क्षेत्रका लगानी गर्न अध्यक्ष मल्लले राजदूत सोङ्गसँग आग्रह गरे । नेपालमा लगानीको प्रतिफल सुनिश्चित गर्नका लागि चेम्बरले पहल गर्ने अध्यक्ष मल्लको भनाइ थियो । दुई मुलुकबीच व्यापार एवं लगानीका साथै सांस्कृतिक आदान प्रदान गरेर पर्यटन गतिविधी बढाउन समेत उनले आग्रह गरे ।
चेम्बर पदाधिकारीसँगको भेटवार्ताका क्रममा राजदूत सोङले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको बताए । नेपालको आर्थिक विकास र समृद्धिका लागि राज्यको नीति स्थिर हुनुपर्ने र यसका लागि निजी क्षेत्रले पनि पहल गर्नुपर्ने उनले बताए ।
नेपाल जलविद्युतमा आत्मनिर्भर हुने क्रममा रहेको भन्दै राजदूत सोङले विद्युतीय सवारी साधनहरूलाई उच्च प्राथमिकतामा राखेर इन्धनको आयातबाट हुने व्यापार घाटा कम गर्न सुझाव दिए । नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना रहेको भन्दै उनले यसलाई उद्योगको रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।