स्पर्श लघुवित्त र माउन्टेन हाइड्रोले आईपीओ जारी गर्न पाए अनुमति | २० करोड ८५ लाख रुपैयाँबराबरको आईपीओ बजारमा ल्याउँदै
काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्पर्श लघुवित्त वित्तीय संस्था र माउण्टेन हाइड्रो नेपाललाई साधारण शेयर (आईपीओ) निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले यी दुई संस्थालाई कुल २० करोड ८५ लाख ७४ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति दिएको हो । सोमध्ये स्पर्श लघुवित्तले २ करोड ६९ लाख ६३ हजार र माउन्टेन हाइड्रोले १८ हजार १६ लाख ११ हजार रुपैयाँबराबरको शेयर जारी गर्न अनुमति पाएका हुन् ।
बोर्डबाट अनुमति पाएसँगै अब स्पर्श लघुवित्तले १ सय अंकित दरका २ लाख ६९ हजार ६३० कित्ता आईपीओ सर्वसाधारणलाई विक्री गर्नेछ । लघुवित्तले २ करोड ६९ लाख ६३ हजार रुपैयाँबराबरको शेयर बिक्री गर्न अनुमति पाएको हो । संस्थाको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्ने भएको छ ।
त्यस्तै, माउण्टेन हाइड्रोले सर्वसाधारण र स्थानिय बासिन्दालाई गरी कुल १८ हजार १६ लाख ११ हजार रुपैयाँबराबरको शेयर विक्री गर्ने भएको छ । हाइड्रोले अंकित मूल्य १०० रुपैयाँको दरले १८ लाख १६ हजार ११० कित्ता शेयर निष्कासन गर्नेछ ।
जसमध्ये हाइड्रोले पहिलो चरणमा विक्री नभएको ५ लाख ६६ हजार ११० कित्ता शेयर आयोजना प्रभावित पाँचथर जिल्लाका स्थानीय बासिन्दालाई र बाँकी १२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणलाई विक्री गर्न अनुमति पाएको हो । हाइड्रोको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।