छेडागाड नगरपालिकामा अझै सुरु भएन राहत वितरण, खुला आकाशमुनि भोकभोकै भूकम्पपीडित
जाजरकोट । जाजरकोटका भूकम्पपीडितका लागि स्थानीय तहहरुले निकै सक्रियताका साथ राहत वितरण शुरु गरेका छन् । इपिसेन्टरका रुपमा रहेको जाजरकोटमा मानवियसँगै ठूलो भौतिक क्षतिको सामना गर्नु परेको छ ।
शुक्रबार मध्यराती आएको विनाशकारी भुकम्प र त्यसयताका पराकम्पले जाजरकोटमा ठूलो क्षति पुर्याएको छ । त्यसका लागि सोमबारदेखि जिल्ला प्रशासनको विपद् व्यवस्थापन समितिले स्थानीय तह मार्फत राहत वितरण कार्य तीव्र रुपमा अगाडि बढाएको जनाएको छ ।
उद्धारको कार्य प्रभावकारी भएको भनिएपनि राहत वितरणमा ढिलाई हुँदा भूकम्पपीडित खुला आकाशमुनि भोकभोकै बस्न बाध्य थिए । सोमबारबाट राहत वितरणमा तीव्रता दिइएको बारेकोट गाउँपालिकाका अध्यक्ष बीर बहादुर गिरीले जानकारी दिएका छन् । इपिसेन्टरका रुपमा रहेको बारेकोटमा मानविय क्षति नभएपनि ठूलो भौतिक क्षति भएको भन्दै त्यसलाई व्यवस्थापन गर्न पालिका लागि परेको बताएका छन् । बिजपाटीसँग कुरा गर्दै उनले भने, हामीले २६०० परिवारका लागि तत्काललाई आवश्यक पर्ने त्रिपाल, कम्बल खाद्यान्न लगायतका भौतिक सामग्री वितरण गरेका छौं । अझै १५०० देखि २००० परिवारका लागि तत्काल चाहिने सामानको आवश्यकता छ । उनले वडाको समन्वयमा राहत वितरण गरेको जनाए ।
उनले तत्कालका लागि राहात वितरणमा पालिकालै कुनै कसर बाँकी नराख्ने बताए । यसका लागि संघ, प्रदेश सरकार लगायत सबैसँग सहयोग गर्नका लागि आग्रह समेत गरे । त्यस्तै अध्यक्ष गिरीले बारेकोट बासिन्दाकाको स्थायी पुनर्वास निकै चुनौतीपूर्ण रहेको बताएका छन् । उनले थपे, यहाँ संयोगले मानविय क्षति नभएपनि भौतिक क्षति निकै ठूलो छ । कुनै पनि घर बस्न सकिने अवस्थामा छैनन् । सबैलाई स्थायी पुनर्वासको व्यवस्थापन गर्नु पालिकाका लागि निकै चुनौतीपूर्ण छ ।
यता, ठूलो मानविय क्षति व्यहोरेको नलगाड नगरपालिका पनि तत्कालको राहत सामग्री वितरणमा तीव्रता दिएको छ । नगरप्रमुख डम्बर बहादुर रावतका अनुसार पालिकाले नगरउपप्रमुख सहित ५५ जनाको मानविय क्षति ब्यहोरेको छ भने कयौं घाइते छन् । उनले १ देखि ७ वडासम्म तत्कालका लागि चाहिने त्रिपाल, कम्बल खाद्याान्न लगायतका सामग्री वितरण गरेको जानकारी दिए । त्यस्तै मृतक परिवारका लागि तत्काल १० हजार दिने नगरपालिकाको निर्णय बमोजिम सो रकम घर घरमै गएर वितरण गर्न लागिएको जानकारी दिएका छन् । बिजपाटीसँगको कुराकानीमा नगरप्रमुख रावतले राहतसामग्री वडाको समन्वयमा वितरण गरिएको जानकारी दिंदैं मृतकको परिवारमा नगद रकम पालिका स्वयं घरघरमा गएर दिइएको बताएका छन् । भौगोलिक विकटताका कारण राहत वितरणमा निकै कठिनाई भएको उनको भनाई छ ।
यता, दुई जनाको मानविय क्षति व्यहोरेको छेडागाड नगरपालिकामा भने राहत वितरणको कार्य शुरु हुन सकेको छैन् । नगर उपप्रमुख चन्द्र बहादुर थापाका अनुसार अहिले राहत प्राप्त गर्ने कार्य भइरहेको साथै वडामार्फत क्षतिको विवरण संकलन गर्ने कार्य भएको र छिट्टै राहत वितरण शुरु हुने उनले जानकारी दिएका छन् । भौगोलिक रुपमा कठिनाईका कारण राहत वितरणमा ढिलाई भएको जानकारी दिएका छन् । प्रारम्भिक जानकारी अनुसार भूकम्पबाट ६ जना घाइते ,३३३ जना विस्थापित भएको साथै ९५ प्रतिशत घरहरुमा क्षति पुर्याएको उनको भनाई छ ।