विद्युत उत्पादन नभएपछि बरुण हाइड्रोपावर नोक्सानीमा
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बरुण हाइड्रोपावरले २ करोड ९ लाख ७२ हजार रुपैयाँ नोक्सानी व्यहोर्न परेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ९९ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको थियो । गत वर्ष विद्युत् बिक्रीबाट ३ करोड २४ लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको यस कम्पनीले यो वर्ष विद्युत् उत्पादन गर्न सकेको छैन । विद्युत् उत्पादन गरेर बिक्री गर्न नसक्दा यस कम्पनी घाटामा गएको हो ।
बरुण हाइड्रोपावरले सञ्चालन गरिरहेको हेवा खोला साना जलविद्युत आयोजना स्थलमा गत असार २ गते गएको बाढीले पूर्ण क्षति पुर्याएका कारण विद्युत उत्पादन गर्न नसकिएको कम्पनीले जनाएको छ । यसअवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि ऋणात्मक बनेको छ ।
असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६६ पैसा ऋणात्मक बनेको छ । प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ २५ पैसा छ । चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ ।