नेपाल उद्यमशीलता सम्मेलन शुरू |
काठमाडौं । ‘संघीय नेपाल, लगानी र समृद्धिको अवसर’ भन्ने नाराका साथ ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ आजदेखि शुरू भएको छ । नेपाल उद्योग परिसंघ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन भएको उक्त सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहीवार उद्घाटन गरेकी हुन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले मुलुकमा चुलिएको व्यापारघाटालाई सन्तुलन गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्ने बताएकी छन् ।
उनले नेपालमा उद्यमशीलताका लागि युवा जनशक्तिलाई उत्प्रेरित गर्न, लगानीमैत्री वातावरण सिर्जना गर्न र सरकारी सेवालाई संस्थागत र सरलीकरण एवम् सुदृढ गर्न व्यावसायिक शिक्षा र तालीमको व्यवस्था गरी उद्यमशीलताबारे राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रियस्तरमा अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिइन् ।
उद्यमशीलताको माध्यमबाटै स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने बताउँदै उनले युवापुस्तालाई विदेश पलायन हुनबाट रोक्न यो सम्मेलनले महत्वपूर्ण योगदान गर्ने बताइन् ।
‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई सार्थक बनाउन नेपाली युवालाई उद्यमशीलतामार्फत आर्थिक विकासमा प्रत्यक्ष सहभागी गराई उनीहरूमा रहेका ज्ञान, क्षमता, दक्षता र विज्ञतालाई उपयोग गर्नुपर्नेमा उनको जोड थियो ।
राष्ट्रपति भण्डारीले नयाँ सोच, नयाँपन, नवीन प्रविधि र सिर्जनशीलताको विकासमा सहयोग पुर्याउनुपर्ने बताउँदै नवीन सोच भएका युवाका लागि लगानी र उद्यमशील वातावरण तयार भएमा नेपाली युवा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम हुने विश्वास व्यक्त गरिन् ।
सम्मेलनले उद्यमीले भोग्नुपरेका समस्याको विश्लेषण गर्दै समाधानका उत्तम उपाय, चुनौती तथा अवसर पहिचान गरी सुझावसहित उचित निष्कर्ष निकाल्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले विद्यमान ऐन कानूनलाई संघीय संरचनाअनुकूल बनाउन आफ्नो तर्फबाट लिनुपर्ने अग्रसरता सम्मेलनले लिने विश्वास व्यक्त गरिन् ।