जाजरकोट भूकम्पपीडितलाई सूर्य नेपालको १ करोड ४० लाख
काठमाडौं । सूर्य नेपाल प्रालिले जाजरकोट भूकम्पपीडित सहयोगार्थ आफ्नो व्यवसायिक सामाजिक दायित्व (सीएसआर) अन्तर्गत एक करोड ४० लाख रुपैयाँ सहायता प्रदान गरेको छ । प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा हुने गरी प्रालिले आज (मंगलबार) प्रधानमन्त्री पुष्पकमल दाहाललाई १ करोड ४० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
भूकम्पका कारण जाजरकोट, रुकुम लगायतका जिल्लाहरूमा जनधनको व्यापक क्षति भएकोमा तत्काल उद्दार, राहत तथा पीडितहरूको पुनःस्थापनामा मद्दत पुर्याउन सहयोग गरेको सूर्य नेपालले जानकारी दिएको छ ।
सो चेक कम्पनीका प्रबन्ध निर्देशक रवी रायवरम, भाइस प्रेसिडेन्ट रवी केसी, विकास भुत्रा, दिप्रा लाहिरी र वित्त प्रवन्धक प्रेम अर्यालको टोलीले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको हो ।
कम्पनीले थप ३५ लाख रुपैयाँ बराबरको खाद्यान्न, टारपाउलिन र ब्ल्याङ्गकेटहरू जाजरकोट पठाइसकेको छ । साथै ५ लाख रुपैयाँ बराबरको औषधी प्रभावित क्षेत्रतर्फ जाने वीर अस्पतालको टोलीलाई हस्तान्तरण गरिसकेको सूर्य नेपाल प्रालिले जानकारी दिएको छ ।