उन्नति सहकार्य लघुवित्तको एफपीओमा आजबाट आवेदन खुला
काठमाडौं । उन्नति सहकार्य लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) आज मंगलबार कात्तिक २१ गतेदेखि बिक्री खुला भएको छ । लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ४५१ रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको हो । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ जारी गरेको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ ल्याएको हो । साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त एकआपसमा गाभिएपश्चात बनेको उन्नति सहकार्य लघुवित्तको पुँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत कायम भएको थियो ।
उक्त पुँजी संरचना ऐन अनुसार मिलाउन यस लघुवित्तले एफपीओ जारी गरेको हो । कम्तिमा ३० प्रतिशत सर्वसाधारणको हिस्सा हुनुपर्ने व्यवस्था छ । एफपीओपछि संस्थापक हिस्सा घट्नेछ भने सर्वसाधारणको स्वामित्व बढ्नेछ । यसमा कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा मंसिर ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।