नेपाल इन्फ्राष्ट्रक्चर बैंकका अध्यक्ष अग्रवालले लिए शपथ |
काठमाडौं । यस नेपाल इन्फ्राष्ट्रक्चर बैंक लिमिटेडका अध्यक्ष अनुज अग्रवालले हिजो बुधवार पद तथा गोपनीयताको शपथ लिएका छन् । उलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पद तथा गोपनियताको शपथ गराएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी, शिवराज श्रेष्ठलगायत उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो । साथै, इन्फ्राष्ट्रक्चर बैंकका सञ्चालक चन्द्रप्रसाद ढकाल र नुमनाथ पौडैल एवम् प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली र नायव प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेको पनि उपस्थिति रहेको थियो ।
बैंकले आफ्नो वित्तीय कारोबार सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको हुँदा बैंक केही दिनमै सञ्चालनमा आउने बताइएको छ । सरकारको १० प्रतिशत तथा निजीक्षेत्रको ९० प्रतिशत लगानी रहेको सो बैंकले सार्वजनिक तथा निजी साझेदारीमार्फत नेपालको पूर्वाधारमा लगानी गर्नेछ ।
राष्ट्रिय, प्रादेशिक तथा स्थानीय स्तरका पूर्वाधार विकासका परियोजनाहरूमा लगानी गर्ने मुख्य कार्यक्षेत्र रहेको यस बैंकको अधिकृत पूँजी रू. ४० अर्ब, जारी पूँजी रू. २० अर्ब र चुक्तापूँजी रू. १२ अर्ब रहेको छ । कम्पनीले ८ अर्बको शेयर सर्वसाधारणमा जारी गर्ने तयारी पनि गरिरहेको छ ।