एनआईसी एशिया बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु. ५१ लाख सहयोग हस्तान्तरण
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि ५१ लाख नगद सहयोग रकम प्रदान गरेको छ । बैंकले उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा उक्त रकम सहयोग गरेको हो ।
उक्त रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई २०८० कात्र्तिक २० गते हस्तान्तरण गरे ।
शुक्रबार राती कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षति भएको छ । सो क्षेत्रको लागि बैंकले राहत उपलब्ध गराउन उक्त रकम दिने भएको हो ।
एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६४५ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।