हिमालयन रिइन्सुरेन्सको आइपीओ : अब मंसिर ४ देखि खुला हुने
काठमाडौं । हिमालयन रिइन्सुरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कात्तिक २१ गतेदेखि जारी गर्ने भनेको आइपीओ निष्कासनको मिति मंसिर ४ गतेलाई सारेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज सोमबारदेखि आइपीओ जारी गर्दा बीचमा तिहारको बिदा परेकाले लगानीकर्ताको सहजताका लागि आइपीओ निष्कासनको मिति पछि सारेको जनाएको छ ।
तथापि, कम्पनीले यो बताएपनि यस कम्पनीको आइपीओ निष्कासन तत्कालका लागि रोक्न सार्वजनिक लेखा समितिले निर्देशन दिएकाले आइपीओ निष्कासनको प्रक्रिया पछि धकलेको हो । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न लागेका कम्पनीहरुको बारेमा नियामक निकाय बिमा प्राधिकरण र धितोपत्र बोर्डसँग स्पष्टीकरण मगेको नेपाली पैसालाई बताए ।
‘प्रिमियममा आइपीओ जारी गर्न दिनु कानुनसम्मत हो कि होइन भनेर हामीले बिमा प्राधिकरण र धितोपत्र बोर्डसँग स्पष्टिकरण सोधेका छौं’ उनले भने, ‘एक हप्ताभित्र पत्रको जवाफसहित उपस्थित हुन भनेका छौं ।’ पत्रको जवाफ कानुनसम्मत आयो भनेमात्रै यस कम्पनीको आइपीओ निष्कासन गर्ने प्रक्रिया अगाडी बढ्ने छ । यदि पत्रको जवाफ कानुनसम्मत भएनभने कम्पनीले आइपीओ निष्कासनको मिति पछि सारे पनि आइपीओ निष्कासन प्रक्रिया नै रोकिनेछ ।
हिमालयनले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३०% ले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यसअनुसार कम्पनीले यसको १०% अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गर्न लागेको हो । यस कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०६ रुपैयाँ दरमा आइपीओ जारी गर्ने तयारी गरेको हो ।