भूकम्प प्रभावित क्षेत्रमा सेनाको ४ वटा एयरक्राफ्ट
काठमाडौँ । जाजरकोट र रुकुम पश्चिममा भुकम्प प्रभावितहरुको खोज तथा उद्धारमा नेपाली सेनाको टोलीले काम गरिरहेको छ । दुईवटा बटालियनबाट खोज तथा उद्धारका लागी सैनिक परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) कृष्णप्रसाद भण्डारीले बताए ।
जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण जाजरकोटको भेरी नगरपालिकास्थित खलंगा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ । रुकुम पश्चिम र जाजरकोटमा अहिलेसम्म १३२ जनाको मृत्यु भएको छ । १४० जना घाइते छन् ।
खोज तथा उद्धारका लागि प्रभावित क्षेत्रमा सेनाको ४ वटा एयरक्राफ्ट परिचालन गरिएको छ । काठमाडौँबाट स्काई ट्रक र ३ वटा हेलिकप्टरमा मेडिकल सामग्री सहितको जनशक्ति प्रभावित क्षेत्रमा पठाइएको सहायकरथी भण्डारीले जानकारी दिए । सैनिक प्रवक्ता भण्डारीकाअनुसार प्रभावित क्षेत्रमा १६ जनाको मेडिकल टिम घटनास्थलमा घाइतेको उपचारमा खटिएका छन् ।