२४ हजारमै काठमाडौं–कोलकाताको दोहोरो उडान | घुम्न रुचाउनेका लागि पर्यटकीय र धार्मिक प्याकेज पनि
काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनि बुद्ध एयरले अन्तरराष्ट्रियतर्फको दोश्रो उडान भारतको कोलकाताबाट शुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । पश्चिम बंगालको राजधानी कोलकाता उडानका लागि बुद्ध एयरले त्यहाँ आफ्नो अधिकारिक कार्यालय पनि खोलिसकेको छ ।
बुद्ध एयरले नवबर्ष २०७६ को आगमनसँगै वैसाख २ बाट कोलकाता उडान भर्नेछ । कोलकाता–काठमाण्डौको सिधा हवाई सेवा सञ्चालन गर्ने बुद्ध एयर एकमात्र नेपाली विमान सेवा कम्पनि हो ।
शुरुमा हप्ताको तीन दिन सोमवार, बुधवार र शुक्रवार उडान सञ्चालन गर्नेछ । काठमाडौंबाट बिहान ८ बजे र कोलकाताबाट स्थानीय समय १०ः३० बजे उडान हुनेछ । कोलकाता उडान एटीआर ७२ बाट गर्नेछ ।
यात्रुको समय र पैसाको वचत होस् भन्ने हेतुले बुद्ध एयरले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरु भ्रमणको लागि आउटबाउन्ड तथा भारतबाट नेपालका विभिन्न स्थानहरुको भ्रमणको लागि इनबाउन्ड होलिडे प्याकेजहरु पनि सञ्चालन गरेको छ । कोलकाता उडानसँगै जगन्नाथपुरी दर्शन, सुन्दरवन, गंगासागर लगायतका भ्रमण प्याकेज सञ्चालनमा आउने छन् । यी प्याकेजहरु बुद्ध एयरको भगिनी संस्था बुध्द होलिडेजले गर्नेछ ।
व्यापार, कामकाज वा पारिवारिक भ्रमण जेसुकै भएपनि कोलकाता उडानमार्फत् भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य बुद्ध एयरले लिएको छ । उडान तथा होलिडे प्याकेजमार्फत् यसले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने विश्वास कम्पनीले लिएको छ ।
बुद्ध एयरले देशका विभिन्न भागमा दिनहुँ ४ दर्जनभन्दा बढी उडान भरिरहेको छ । अन्तरराष्ट्रियतर्फ बुध्द एयर भारतको वाराणसीमा साताको सोमबार र शुक्रवार गरि २ उडान भरिरहेको छ ।