मल्टिपर्पस फाइनान्सको १८४ प्रतिशतले खुद नाफा बढ्यो |
काठमाडौं । मल्टिपर्पस फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आवको यसै अवधिमा १८४ प्रतिशतले खुद नाफा बढाउँदा पनि ३६ लाख तीन हजार मात्र खुद नाफा आर्जन गरेको छ ।
गत वर्षको यसै अवधिमा फाइनान्सले १२ लाख ६७ हजार रुपैयाँ कमाएको थियो । समीक्षा अवधिमा फाइनान्सले २३ लाख ३५ हजारले खुद नाफामा सुधार गरेको हो ।
चक्ता पूँजी ४ करोड १४ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा दुई करोड ७३ लाख रुपैयाँ सञ्चित छ । जगेडा कोष पनि कम्पनीले ५१.९३ प्रतिशतले बढाएको छ ।
पुस मसान्तसम्ममा २२ करोड १३ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाईनान्सले २१ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ । समीक्षा अवधिमा फाईनान्सले ७१ लाख खुद ब्याज आम्दानी गरेको छ । गतवर्षको तुलनामा फाइनान्सको खुद ब्याज आम्दानी ३१ लाख ४७ हजार रुपैयाँ अर्थात ७९.४ प्रतिशतले धेरै हो ।
फाइनान्समा निष्कृय कर्जा अनुपात ५ बाट बढेर ७ प्रतिशतमा पुगेको छ । राष्ट्र बैंकको निर्देशन अनुरुप बैंक तथा वित्तीय संस्थाहरुले पाँच प्रतिशत भन्दा कम खराब कर्जा कायम गर्नुपर्छ । नत्र कम्पनीले कारवाहीको सामना गर्नुपर्छ । यो कम्पनीले पनि कारवाहीमा सामना गर्नुपर्ने देखिएको छ ।
फाइनान्सको प्रतिशेयर आम्दानी गत आवको पुस मसान्तमा ६ रुपैयाँ ११ पैसा रहेकोमा ११ रुपैयाँ २७ पैसा बढेर १७ रुपैयाँ ३८ पैसा छ ।
कम्पनीको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ३३ पैैसा र मल्य आम्दानी अनुपात १४.४१ गुणा बढी छ ।